काठमाडौं । लमजुङमा आयोजित त्रिवेणी कप नकआउट फुटबल प्रतियोगिताको उपाधि लालीगुराँस युवा क्लब भुजुङले जितेको छ । बेसिशहरस्थित सहजी त्रिवेणी रंगशालामा भएको ३१ औं त्रिवेणी कप नकआउट फुटबलको फाइनल खेलमा बेसिशहर युथ सोसाईटीलाई १–० गोल अन्तरले पराजित गर्दै लालीगुराँस युवा क्लब भुजुङले १९ वर्षपछि पुनः उपाधि जितेको हो । भुजुङले ०६१ मा त्रिवेणीकप उपाधि उचालेको थियो ।
यसपटक एनएसएलका अधिकांश खेलाडी लिएर खेलेको भुजुङले उपाधिको दावेदार मानिएको विभागिय टिम त्रिभुवन आर्मी जस्ता टिमलाई पराजित गर्दै फाइनलको यात्रा गरेको थियो । लालीगुराँसले खेल अवधिभर आफ्नो दबाब कायम राखेपनि पहिलो हाफ बराबरी रह्यो । निकै रोमाञ्चक खेलको दास्रो हाफको १५ मिनेटमा बेसीसहर युथ सोसाईटीका जर्सी नम्बर २५ का बिदेशी खेलाडी एन्ड्रियास नियाले आफ्नै पोस्टमा गोल गर्दा लालीगुराँस युवा क्लब उपाधीको दावेदार बन्यो ।
च्याम्पियन बनेको भुजुङले नगद ८ लाख र ट्रफि उचाल्यो । त्रिवेणी कपकै दुई पटक उपाधी जितिसकेको बेसीसहर युथ सोसाईटीले उपविजेतामा चित्त बुझाउँदै ४ लाख रुपैयाँ प्राप्त गर्याे । विजेतालाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, प्रदेशसभा सदस्य भेषबहादुर पौडेल, बेसीसहर नगरपालिकाका मेयर गुमानसिँह अर्याल, त्रिवेणी क्लबका अध्यक्ष राजकुमार घिमिरेलगायतले पुरस्कार वितरण गरेका थिए ।
सेमीफाइनलमा पराजित लाङ्दीदेवी युवा क्लब नाल्मा र अविशेक चर्ज रजहर नवलपुरले नगद १्१ लाख पुरस्कार पाए । सर्वोकृष्ट खेलाडी बेसीसहर युथ सोसाईटीका लक्षु थापा र सर्वाधिक गोलकर्ता सुन्दरबजार युवा क्लबका एरोन थापाले नगद २०२० हजार पायो । फाईनल खेलको म्यान अफ दि म्याच लालीगुराँस युवा क्लबका सुदिप गुरूङ भए ।