काठमाडौं । आइसिसी यू–१९ एकदिवसीय विश्वकपको पहिलो खेलमा नेपाल पराजित भएको छ । टेष्ट मान्यताप्राप्त राष्ट्र न्युजिल्यान्डसँग भिडेको नेपाल ६४ रनले पराजित भएको हो । न्युजिल्यान्डले दिएको तीन सय तीन रनको विशाल लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा नौ विकेको क्षतिमा दुई सय ३८ रन बनायो ।
नेपालका लागि ओपनर अर्जुन कुमालले सर्वाधिक ९० रनको योगदान दिए । एक सय चार बलको सामना गरेका अर्जुनले १२ चौका प्रहार गरे । अर्जुनले एक इन्ड सम्हालेर न्युजिल्यान्डको धारिलो बलिङसँग डटिरहँदा अर्को इन्डबाट लगातार विकेट गुमेपछि नेपाल संकटमा परेको हो ।
नेपालले पहिलो ओभरको तेस्रो बलमै विकेट गुमाएको थियो । ओपनर दीपक बोहरा क्लार्कको बलमा विकेटपछाडि समातिएपछि नेपालको पतन सुरु भएको थियो । लगत्तै आकाश त्रिपाठी पनि दुई रन बनाएर आउट भए । यतिवेला नेपालले जम्मा १८ रन बनाएको थियो ।
१६औँ ओभरमा नेपालले ७७ रनको अवस्थामा कप्तान देवलाई गुमाएको थियो । उनी गएलगत्तै विकेटको पतन झन तेज हुनु पुग्यो । तीन बल मात्र सामना गरेका विकेटकिपर ब्याटर उत्तम मगर गोल्डेन आउट भए । सबैभन्दा भर गरिएका सिनियर टिमका नियमित सदस्य गुल्सन पनि जम्मा दुई रनमा आउट भएपछि नेपालको हातबाट खेल फुत्किन पुग्यो ।
गुल्सन आउट भएपछि बलर मात्र बाँकी थिए । बलर दिपक बोहराले दुई चौका प्रहार गर्दै १५ रन बनाएपछि अर्जुनको साथ छोडे । उनीपछि आएका दिपेश कँडेल पनि सून्य रनमै आउट हुन पुगे । यस्तोमा अर्जुनले सुवास भण्डारीसँग मिलेर नेपाली इनिङ अगाडि बढाइरहे ।
नेपालका अन्य सबै ब्याटर न्युजिल्यान्डका बलरसामू टिक्न संघर्ष गरिरहँदा अर्जुन सहज ढंगले खेलिरहेका थिए । अधिकांश ब्याटर सर्ट बलको शिकार बने पनि अर्जुनले सर्ट बलमा राम्रो नियन्त्रण देखाएका थिए ।
लक्ष्य पछ्याउने मुख्य जिम्मेवारी पाएका माथिकल्लो क्रमका ब्याटरहरू सस्तैमा आउट भए पनि बलरले अलराउन्डरको भूमिका निभाउँदै अन्तिमसम्म संघर्ष गर्न सक्ने क्षमता प्रदर्शन गरे ।
अब नेपालले बुधबार पाकिस्तानको सामना गर्नेछ भने शुक्रबार अफगानिस्तानसँग भिड्नेछ ।