काठमाडौं । लगातार अस्ट्रेलिया पलायन भइरहेका फुटबलरको अर्को चार जनाको टोली मंगलबार त्यसतर्फ प्रस्थान गरेको छ। ३ दर्जन बढी खेलाडी अस्ट्रेलिया पलायन भइसक्दा पुन राष्ट्रिय टिमबाट अनुभव बटुलिसकेका चार फुटबलरले पलायनको बाटो रोजेका हुन।
सुनौलो भविष्यको खोजीमा स्टार फुटबलर आशिष चौधरी, सिमान्त थापा, सेसेहाङ आङदेम्बे, र अनिश देउला अस्ट्रेलिया प्रस्थान गरे। एन्फा भित्रको बढ्दो अराजक्ता बिच फुटबलरहरु निरन्तर विदेशीने क्रम बढ्दो रहेको छ। यसअघि गत जेठमा सम्पन्न सहिद स्मारक ‘ए’ डिभिजन लिगमा सिमान्तले जावलाखेल युथ क्लबको कप्तानको जिम्मेवारी निभाएका थिए।
उक्त लिगमा गरेको प्रदर्शनका आधारमा सिमान्तले राष्ट्रिय टोलीमा समेत आफ्नो स्थान बनाए। उनले गत संस्करणको साफमा भारतविरुद्धको खेलमा राष्ट्रिय टिमबाट डेब्यू गरेका थिए। उनी गत पुसमा सम्पन्न नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा वीरगंज युनाइटेडबाट खेलेका थिए। त्यस्तै गोलरक्षक अनिशले पनि जावलाखेलबाटै शीर्ष डिभिजन खेलेका थिए। बन्द प्रशिक्षणमा परे पनि उनले राष्ट्रिय टोलीमा स्थान बनाउन भने असफल रहेका थिए।
त्यस्तै फिफा विश्वकप तथा एएफसी एसियाकपको संयुक्त प्रारम्भिक छनोटको दोस्रो चरण अन्तर्गत यमनविरुद्धको सुरुवाती रोजाइमा खेलेका आशिष चौधरी र सेसेहाङ आङ्दाङ्बे अहिले पनि राष्ट्रिय टिममा आफ्नो स्थान सुरक्षित गर्न सक्ने खेलाडीका रुपमा रहेका थिए।
विभागीय टोली त्रिभुवन आर्मी क्लबबाट खेल्दै आएका सेसेहाङले ६ अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनले सन् २०२० मा बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमार्फत अन्तर्राष्ट्रिय डेब्यू गरेका थिए। उनले उमे समूहबाटै नेपाली राष्ट्रिय टिमको प्रतिनिधित्व गरेका थिए। एनएसएलको दोस्रो संस्करणमा ललितपुर सिटी एफसीलाई च्याम्पियन बनाउन सेसेहाङको भुमिका महत्वपूर्ण रहेको थियो।
त्यस्तै चर्च ब्वाइज युनाइटेडबाट घरेलु लिग खेल्दै आएका आशिष पछिल्लो एक वर्ष अन्तर्राष्ट्रिय फुटबलको प्लेइङ ११ मा रहँदै आएका छन्। आशिषले गत वर्ष बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमार्फत अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए। चर्च ब्वाइजलाई डेब्यु सिजनमै शीर्ष डिभिजन च्याम्पियन बनाउन आशिषले महत्वपूर्ण भूमिका निर्वाह गरे। साथै उनले एनएसएलमा धनगढीको मार्की खेलाडी बन्दै टोलीलाई फाइनल सम्म पुर्याएका थिए।