काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ र अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) अध्यक्ष ग्रेग बार्कलेबीच मंगलबार भेटवार्ता भएको छ। भेटका अवसरमा दुई पक्षबीच नेपाली क्रिकेटको अवस्था, सम्भावना र आईसीसीले नेपाली क्रिकेटलाई गर्न सक्ने सहयोग लगायत विषयमा छलफल भएको छ।
उक्त अवसरमा सदस्य-सचिव घिसिङले एसोसिएट राष्ट्रतर्फ टी-२० क्रिकेटमा नेपालले विगतमा कायम गरेको शीर्ष स्थानलाई कायम राखी राख्न प्रयासरत रहेको बताए। उनले पूर्वाधार विकासमा राज्यले चासो दिएर लगानी गरिरहेको बताए।
सदस्य–सचिव घिसिङले नेपाल सरकारले मूलपानी क्रिकेट रंगशाला, चितवनको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र मोरङको बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गरेको स्मरण गराए।
उनले नेपाल र बंगलादेशले सन् २०२७ मा संयुक्त रुपमा आयोजना गर्ने यु–१९ महिला टी– २० विश्वकपका लागि आईसीसीबाट पनि सहयोगका लागि आग्रह गरे। विश्वकप आयोजनाका लागि स्वीकृति दिएकोमा उनले आईसीसीलाई धन्यवाद दिए।
‘अमेरिका र वेस्ट इन्डिजले संयुक्त रुपमा आयोजना गर्ने विश्वकप पुरुष टी–२० प्रतियोगिताका लागि आईसीसीले राम्रै सहयोग गरेको मैले जानकारी पाएको छु। हामीले पनि आईसीसीबाट यु–१९ विश्वकपका लागि त्यस्तै सहयोगको अपेक्षा गरेका छौँ। हाम्रो तर्फबाट पनि तयारीमा कुनै कसर बाँकी राख्दैनौँ’, घिसिङले भने, ‘विश्वकप आयोजनाका लागि स्वीकृति दिएकोमा आईसीसीलाई धन्यवाद!’
घिसिङले नेपालमा क्रिकेटको अन्तर्राष्ट्रिय प्रतियोगिता हुँदा दर्शकको उपस्थिति उत्साहजनक रहेको स्मरण गराउदै धेरै भन्दा धेरै अन्तर्राष्ट्रिय प्रतियोगिता नेपालमा आयोजना गर्ने वातारण बनाइदिन आग्रह गरे।
नेपाललाई प्राविधिक पक्ष, खेल सामाग्री, हाइ पर्फमेन्स तालिम केन्द्र स्थापनालगायत विषयमा सहयोगका लागि पनि आईसीसी अध्यक्षसँग उनले आग्रह गरे।
अध्यक्ष बार्कलेले एसोसिएट राष्ट्रमा नेपाल फेरि नम्बर १ बन्ने सम्भावना रहेको बताउँदै सीमित श्रोत र साधानका बावजुद नेपाली क्रिकेटले गरेको प्रगति प्रशंसनीय रहेको बताए।
अध्यक्ष बार्कलेले पूर्वाधारका विषयमा चासो व्यक्त गर्दै नेपाली क्रिकेटको विकास र विस्तारमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।