एजेन्सी । पृथ्वीको तापक्रम गत वर्षको भन्दा बढेसँगै संयुक्त राष्ट्रसङ्घले सन् २०२४ मा तापक्रम थप वृद्धि हुने चेतावनी दिएको छ ।
राष्ट्रसङ्घको विश्व मौसम विज्ञान सङ्गठन (डब्ल्यूएमओ) को प्रारम्भिक प्रतिवेदनले सन् २०२३ हालसम्मकै तातो वर्ष रहेको पुष्टि गरेको छ । गत वर्ष नजिकको सतहको औसत तापक्रम पूर्वऔद्योगिक स्तरभन्दा एक दशमलव ४५ डिग्री सेल्सियस बढी रहेको डब्ल्यूएमओले बताएको छ । यो एक दशमलव पाँच डिग्री सेल्सियसको सीमा नजिक हो । सन् २०१५ को पेरिस जलवायु सम्मेलनमा मुलुकहरू एक दशमलव पाँच डिग्री सेल्सियसको सीमाबाट बच्न सहमत भएका थिए ।
‘सन् २०२४ ले सन् २०२३ को रेकर्ड तोड्ने उच्च सम्भावना छ’, डब्ल्यूएमओका जलवायु अनुगमन प्रमुख ओमान बद्दुरले भने ।
प्रतिवेदनको प्रतिक्रिया दिँदै राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले पृथ्वी सङ्कटमा रहेको सङ्केत गरे । ‘पृथ्वी सङ्कटमा छ, जीवाश्म इन्धन प्रदूषणले जलवायु अराजतकता निम्त्याउँदै छ जसले गर्दा द्रूत गतिमा परिवर्तन भइरहेको छ’, एक भिडियोमार्फत महासचिव गुटेरेसले चेतावनी दिए ।