काठमाडौं । सल्यानमा बुधबारबाट अन्तरपालिका स्तरीय ‘शारदा मेयरकप टि–२०’ क्रिकेट प्रतियोगिता हुने भएको छ ।
शारदा नगरपालिका सल्यानको आयोजना र जिल्ला क्रिकेट संघ सल्यानको समन्वयमा खलंगाको लुहापिङमा प्रतियोगिता हुन लागेको हो ।
शारदा नगरपालिका सल्यानले बुधबार पत्रकार सम्मेलन गरि अन्तरपालिका स्तरीय शारदा मेयर टि–२० कप क्रिकेटको तयारी पुरा भएको जनाएको छ । २०८० चैत २८ गते देखी २०८१ बैशाख ३ गतेसम्म सञ्चालन हुने शारदा मेयर टि–२० कप क्रिकेटको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिए ।
प्रतियोगितामा जिल्लाको कुमाख गाउँपालिका र दार्मा गाउँपालिका बाहेक बाँकी ८ वटै स्थानिय तहका १ सय २८ जना क्रिकेट खेलाडीको सहभागिता रहनेछ । नगर प्रमुख भण्डारीले प्रतियोगिताको विजेता टिमले एक लाख रुपैँया र उपविजेता टिमले ५० हजार रुपैँया पुरस्कार पाउने बताए । जसमा प्लेयर अफ म्याच, प्लेयर अफ द सिरिज, वेष्ट बलर, वेष्ट ब्याट्सम्यान, वेष्ट किपर लगाएतका विधामा पनि पुरस्कृत गरिने उहाँको भनाइ छ । शारदा नगरपालिकाले विनियोजन गरेको ५ लाख रुपैयाँबाट प्रतियोगिता सञ्चालन गर्न थालिएको हो ।
प्रतियोगितामा सहभागि भएका ८ वटा पालिकालाई दुई समुहमा विभाजन गरेर आइसिसिको नियमअनुसार लिग चरणमा खेल हुने छ । जसमा समुह ए मा बन्गाड कुपिण्डे नगरपालिका, कपुरकोट गाउँपालिका, बागचौर नगरपालिका र कालिमाटी गाउँपालिका छन् ।
यस्तै समुह विमा सिद्ध कुमाख गाउँपालिका, छत्रेश्वरी गाउँपालिका, शारदा नगरपालिका र त्रिबेणी गाउँपालिका रहेका छन् ।
लिग चरणमा फाइनल सहित १३ वटा खेल हुने जिल्ला क्रिकेट संघ सल्यानका अध्यक्ष तथा शारदा नगरपालिका–२ का वडाअध्यक्ष सविन हमालले जानकारी दिए । दुवै समुहबाट पहिलो हुने २ टिम फाइनलमा उपाधिका लागि भिड्ने छन् । बुधबार ११ बजे बाट शुरु हुने मेयरकप टि २० क्रिकेट प्रतियोगिताको उद्धघाटन पुर्व गृहराज्यमन्त्री देवेन्द्रराज कडेलले गर्ने कार्यक्रम रहेको छ ।