काठमाडौं । नेपाल एसीसी प्रिमियर कप टी २० क्रिकेट प्रतियोगितको सेमिफाइनलमा पुगेको छ । साविक विजेता नेपालले सोमबार हङकङ चाइनामाथि ८ विकेटको सहज हात पार्दै सेमिफाइनल यात्रा तय गरेको हो ।
लगातार तेस्रो जित निकाल्दै नेपाल एक खेल अगावै सेमिफाइनल पुगेको हो । यसअघि नेपालले मलेसिया र कतारलाई पराजित गरेको हो । अब नेपालले समूह चरणको अन्तिम खेल ५ वैशाखमा साउदी अरबसँग खेल्नेछ । पाँच टीम रहेकाे समूह ए बाट सेमिफाइनल पुग्ने अर्काे टीमकाे टुंगाे भने लागेकाे छैन ।
ओमानको अल अमिरात मैदानमा ११५ रनको लक्ष्य पाएको नेपालले १२.२ ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो । १८ ओभरमा झारिएको खेलमा पहिलो विकेटका लागि कुशल भुर्तेल र आसिफ शेखले ५.३ ओभरमा ७० रनको साझेदारी गरेका थिए । १९ बलमा ३२ रन बनाएर भुर्तेल आउट भए भने आसिफ शेखले १८ बलमा ४० रन बनाए । रोहित पौडेलले नटआउट २५ रन बनाए भने सन्दीप जोरा १९ रनमा नटाअउट रहे ।
यसअघि नेपालले हङकङलाई ११४ रनमा अलआउट गरेको थियो । जसमा अभिनाष बोहोराले ३ विकेट लिएका थिए भने ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले २–२ विकेट लिएका थिए ।