काठमाडौं । सल्यान खलंगा लुहापिङ खेलमैदानमा सम्पन्न शारदा मेयर कप टि–२० क्रिकेट प्रतियोगिताको उपाधि बागचौर नगरपालिकाले जितेको छ ।
सोमबार भएको फाइनल खेलमा घरेलु टिम शारदालाई पछि पार्दै बागचौर विजेता बनेको हो । प्रतियोगिताको विजेता टिम बागचौर नगरपालिकाले नगद १ लाख, ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै उपविजेता शारदा नगरपालिकाले नगद रु.५० हजार ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
टस जितेर ब्याटिङ रोजेको बागचौरले निर्धारित २० ओभरको खेलमा आफ्नो महत्वपूर्ण ८ विकेट गुमाएर ११८ रन बनायो । बागचौरका लागि हेमराज बस्नेतले २८ रन, किशोर वलीले २७ रन र मोहन डाँगीले १० रन बनाए । अतिरिक्तमा बागचौरलाई २४ रन मिल्यो ।
११८ मा बागचौरलाई रोक्न शारदा नगरपालिकाका खेलाडी सविन डिसीले ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए । त्यस्तै सन्दीप जिवी, नविन नेपाली, आशिष सिंहले समान १-१ विकेट लिए । जवाफी ११९ रनको लक्ष्य लिएर मैदान प्रवेश गरेको शारदा १५.४ बलमा आफ्नो सम्पूर्ण विकेट गुमाएर १०३ रनमा समेटियो ।
शारदाका लागि आश्विन सिंहले सर्वाधिक २१ रन बनाए, त्यस्तै नवराज बुढाथोकीले १८ रन र आशिष सिंंहले १५ बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । अतिरिक्तमा शारदालाइए २९ रन मिल्यो त्यस्तै १०३ रनमा शारदालाई रोक्न बागचौरका राजन वलीले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए ।
त्यस्तै निर्मल डाँगीले ४ ओभरमा १ मेडन राखी १६ रन खर्चेर २ विकेट लिए भने हेमराज बस्नेतले ३.४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । यो सँगै फाइनल खेलमा बागचौर १५ रनमा विजयी हुन सफल भयो । यस खेलका प्लेयर अफ द फाइनल व्याटिङबाट २८ रन र बलिङबाट २ विकेट लिने बागचौरका हेमराज बस्नेत भए ।
प्रतियोगिताको बेष्ट ब्याट्समेन शारदाका आश्विन सिंह, बेष्ट बलर त्रिवेणीका टेकबहादुर डाँगी, इमरजिङ प्लेयर त्रिवेणीका सुमित भण्डारी, लिटल मास्टर छत्रेश्वरीका विमोचन थापा, वेष्ट फिल्डर बागचौरका हेमराज बस्नेत, विकेट किपर त्रिवेणीका मोहन खत्री र प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडी शारदाका सुरज बुढाथोकी बनेका छन । उनीहरुलाई नगद र प्रमाणपत्र सहित पुरस्कृत गरिएको छ ।
उपप्रमुख सुस्मिता सापकोटाको अध्यक्षतामा भएको समापन तथा पुरस्कार वितरण कार्यक्रममा नेपाल क्रिकेट संघका केन्द्रीय कोषाध्यक्ष पदम बहादुर खड्काको प्रमुख आतिथ्यता रहेको थियो ।
विशिष्ट अतिथिको रुपमा बागचौर नगरपालिकाका प्रमुख जनकराज गौतमको उपस्थिति रहेको थियो । कार्यक्रममा शारदा र वागचौरका वडाअध्यक्षहरुका साथै खेलाडी, खेलप्रेमीहरुको उपस्थिति रहेको थियो । उक्त अवसरमा सल्यान जिल्ला महिला क्रिकेट टिमका सदस्यहरुलाई सम्मान गरिएको छ ।
कार्यक्रममा क्रिकेट एशोसियसन अफ सल्यानका अध्यक्ष सविन हमाल, शारदाका प्रमुख निमित्त प्रमुख प्रशासकीय अधिकृत लिलाधर बबाल, बागचौर नगरपालिकाका प्रमुख जनकराज गौतम, नेपाल क्रिकेट संघका कोषाध्यक्ष पदम बहादुर खड्काको मन्तव्य रहेको थियो ।
शारदा नगरपालिकाको आयोजना र क्रिकेट एशोसियसन अफ सल्यानको प्राविधिक सहयोगमा प्रतियोगिता २०८० चैत्र २८ देखि २०८१ वैशाख ३ गतेसम्म सञ्चालन भएको हो ।