काठमाडौं । लमजुङ क्व्होलासोथार गाउँपालिका ३ घलेगाउँस्थित कन्याज्योती युवा क्लबले वैशाख पूर्णिमाको अवसरमा आयोजना गरेको प्रतियोगितामा नागिधार विश्वकर्मा एकता समाज, युवा क्लब कास्की पहिलो भएको छ ।
सोमबारको फाइनल खेलमा सक्षम युवा क्लव चितवनलाई हराउँदै नागिधार विश्वकर्मा एकता समाज, युवा क्लब कास्कीले पहिलो भएको हो । स्वर्गभूमी रंगशालामा भएको फाइनल खेलमा खेल अवधिभर कुनै पनि गोल हुन नसकेपछि नागिधार विश्वकर्मा एकता समाजले ट्राइब्रेकरमा २–० गोल गरेको थियो ।
पहिलो हुने नागिधारले नगद ८० हजार रुपैयाँको साथमा ट्रफि मेडल र प्रमाण पत्र पाएको भने द्वितीय सक्षम चितवनले नगद ५० हजार रुपैयाँ, ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।
त्यस्तै प्रतियोगितामा नागिधार विश्वकर्मा एकता समाजका आशिस सुनारले खेल अवधिभर ५ गोल गर्दै सर्वाधिक गोलकर्ता घोषित भए । सक्षमका विजन अछामी उत्कृष्ट खेलाडीको रुपमा छनौट भए । सर्वाधिक गोलकर्ता र उत्कृष्ट खेलाडी दुवैलाई नगद २/२ हजार रुपैयाँ, मेडल र प्रमाण पत्र प्रदान गरिएको छ ।
कन्याज्योती युवा क्लब घलेगाउँले २०७१ सालदेखि वैशाख पूर्णिमा अर्थात् बुद्धजयन्तीको अवसरमा हरेक वर्ष दलित खुल्ला फुटबल प्रतियोगिता आयोजना गर्दै आएको क्लबका अध्यक्ष उमलबहादुर वि.कले बताए ।
यहि वैशाख १९ गतेबाट शुरु भएको प्रतियोगितामा लमजुङ, तनहुँ, कास्की र चितवन जिल्लाका २६ टिमले दर्ता भएका पनि २४ टिमले सहभागीता जनाएका संयोजक आयुस सेन्च्युरीले बताए ।
समापन कार्यक्रममा क्व्होलासोथार गाउँपालिकाका पूर्व अध्यक्ष प्रेमबहादुर घले, बेसिशहर नगरपालिकाका कार्यपालिकाका सदस्य एवं प्रवक्ता हिरालाल विश्वकर्मा, क्व्होलासोथार गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष आशवीर गुरुङ, कार्यपालिका सदस्य गंगा घले, स्वास्थ्य शाखा प्रमुख त्रिलोकचन्द्र गुरुङ, वडा सदस्य पार्वती सुनार, राष्ट्रिय दलित पत्रकार संघ लमजुङका अध्यक्ष सरोज विश्वकर्मा लगायतको उपस्थिति रहेको थियो ।