काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा नदिएको सम्बन्धमा नेपालले जवाफ दिन नसक्ने सरकारले जनाएको छ । सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सन्दीपलाई भिसा नदिनु अमेरिकाको आफ्नो कुरा भएको बताइन् ।
‘सरकारले सक्दो पहलकदमी गरेको हो । अमेरिकाले भिसा किन दिएन ? के गरेर दिएन भन्नेबारे मैले उत्तर दिन सक्ने विषय होइन,’ उनले भनिन् । सन्दीपको भिसाका लागि अझै पनि सरकारले पहलकदमी गरिरहेको उनले बताइन् ।
पुनः अन्तर्वार्ताको अवसर दिएर अमेरिकाले दोस्रोपटक क्रिकेटर लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ । विश्वकप टी–ट्वान्टी क्रिकेट २ जुनदेखि अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुन लागेको छ ।