एजेन्सी । डिफेण्डिङ च्याम्पियन अर्जेन्टिना कोपा अमेरिका २०२४ को फाइनलमा पुगेको छ । आज बिहान सेमिफाइनलमा क्यानडालाई २-० गोलले हराउँदै अर्जेन्टिनाले उपाधि भिडन्त पक्का गरेको हो । अर्जेन्टिनाको जितमा जुलियन अल्भारेज र लियोनल मेस्सीले गोल गरे ।
जारी प्रतियोगितामा मेस्सीको यो पहिलो गोल हो । योसँगै अर्जेन्टिनाका लागि उनले गरेको गोल संख्या १०९ पुगेको छ । यसअघि भेनेजुएलाविरुद्ध उनले पेनाल्टी मिस गरेका थिए । आजको खेलमा क्यानडाविरुद्ध मेस्सीले फर्नान्डेजको पासलाई ५१औँ मिनेटमा गोलमा परिणत गरे । त्यसअघि २२औँ मिनेटमा जुलिएन अल्भारेजको गोलसँगै अर्जेन्टिनाले अग्रता लिएको थियो । भोलि बिहान सेमिफाइनलको दोस्रो खेलमा उरुग्वे र कोलम्बियाबीच प्रतिस्पर्धा हुने छ । उक्त खेल जित्ने टोलीले उपाधिका लागि अर्जेन्टिनाको सामना गर्नुपर्ने छ ।
पराजित भए पनि कोपा अमेरिका २०२४ क्यानडाका लागि ऐतिहासिक रह्यो । किनकि, पहिलोपल्ट कोपा अमेरिका प्रतियोगिता खेल्न पाएको क्यानडाले सेमिफाइनलसम्मको यात्रा तय गर्यो । सन् २००० मा कोनकाकाफ गोल्डकप जितेको पुरस्कारस्वरुप क्यानडाले २००१ मा कोपा अमेरिकाको टिकट पाएको थियो । तर, सुरक्षा चुनौतीपछि उसले प्रतियोगितामा सहभागिता जनाएन ।
विश्व वरियतामा क्यानडा ४८औँ स्थानमा छ । लियोनल मेस्सी नेतृत्वको अर्जेन्टिना आजको समयमा विश्व नम्बर १ टिम हो । सन् २०२२ को विश्व कप ट्रफी पनि अर्जेन्टिनाले नै जितेको थियो ।