काठमाडौं । एसीसी महिला एसिया कप क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ । शुक्रबार श्रीलंकाको धमुल्ला अन्तर्राष्ट्रिय रंगशालामा भएको उद्घाटन खेलमा नेपालले यूएईमाथि ६ विकेटको कीर्तिमानी जित निकालेको हो । यूएईले दिएको ११६ रनको लक्ष्य नेपालले १६.१ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो ।
एसिया कपमा तेस्रोपटक सहभागिता जनाइरहेको नेपालको यो पहिलो जित हो । यसअघि नेपाल सहभागी एसिया कपका दुई संस्करणमा नेपालले कुनै पनि खेलमा जित हात पार्न सकेको थिएन ।
यूएईमाथि कीर्तिमानी जित निकाल्ने क्रममा नेपालकी ओपनर सम्झना खड्का नायक बनिन् । सम्झनाले ४५ बलमा ७२ रन जोडिन् । टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा खड्काको यो पहिलो अर्धशतक हो । यस्तै, रुविना क्षेत्रीले १०, सीता राना मगरले ७, कप्तान इन्दु बर्माले ६ रन जोड्दा कविता कुँवर २ रनमा आउट भइन् । पूजा महतो भने ७ रनमा अविजित रहिन् ।
यूएईकी कविशा एगोडागेले ३ र लावण्या केनीले १ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११५ रनको योगफल तयार पारेको थियो । यूएईकी खुसी शर्माले सर्वाधिक ३६ रन बनाइन् । यस्तै, काविशा एगोडागेले २२, समायरा धरणीधर्काले १३ र कप्तान ईशा ओजाले १० रन जोड्दा तीर्थ सतीश र हिना होतचन्दानीले समान ९-९ रनको योगदान दिए ।
बलिङतर्फ नेपालकी कप्तान इन्दु बर्माले तीन विकेट लिइन् । चार ओभर बलिङ गरेकी इन्दुले १९ रनमात्रै खर्चिएर ३ विकेट लिएकी हुन् । यस्तै, कविता जोशी, सबनम राई र कृतिका मरासिनीले समान १-१ विकेट लिए ।