लमजुङ । लमजुङमा वडाबाटै राष्ट्रिय परिचयपत्रको विवरण संकलन गरिने भएको छ । माघको पहिलो सातादेखि विवरण संकलन गर्न लागिएको हो ।
हाल जिल्ला प्रशासन कार्यालयबाट मात्रै विवरण संकलन हुँदै आएको छ । स्थानीय तहमा वडास्तरीय घुम्ती शिविर गरी राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन गरिने लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए ।
जिल्लाको आठ स्थानीय तहबाट अभियान सुरु गरी तीन महिनाभित्र अभियान सम्पन्न गर्ने लक्ष्य रहेको छ । हाल जिल्ला प्रशासन कार्यालयमा दुई स्टेसनबाट राष्ट्रिय परिचयपत्रका लागि विवरण लिने काम भइरहेको छ । विवरण संकलनका लागि नेपाली नागरिकता अनिवार्य भएको र त्यसको विकल्पमा राहदानी वा शैक्षिक प्रमाणपत्र पनि पेस गर्न सकिने प्रशासनले जनाएको छ ।