काठमाडौं । साफ महिला च्याम्पियनसिपको उपाधि होडमा नेपाल बुधबार साविक विजेता बंगलादेशसँग भिड्दैछ। पाँचपल्ट फाइनलमा पुगे पनि उपाधि हात पार्न नसकेको नेपाल यसपल्ट उपाधि जित्ने अठोटका साथ मैदानमा उत्रदै छ। गत संस्करणमा घरेलु मैदानमै बंगलादेशसँग पराजित भएको नेपाल यसपल्ट भने दशरथ रंगशालामा बदला लिन तयार छ।
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर एञ्जिला तुम्बापो सुब्बाले पनि उपाधि जित्ने लक्ष्यका साथ यो अवसर गुम्न नदिने बताएकी छन्।
फाइनलअगाडि आयोजित पत्रकार सम्मेलनमा एञ्जिलाले यसपल्ट अवसर नगुमाउने विश्वास व्यक्त गरिन्। उनले बंगलादेशलाई उत्कृष्ट टोली मान्दै, नेपाली टोलीले चुनौती दिन तयार र सक्षम रहेको उल्लेख गरिन्।