काठमाडौं । आईसीसी यू-१९ महिला टी-२० विश्वकपमा छनोट हुने अन्तिम र निर्णायक क्षणमा नेपाली क्रिकेट टोली पुगेको छ।
संयुक्त अरब इमिरेट्स (यूएई) भ्रमणमा रहेको टोली यूएईसँगै जित निकालेर विश्वकपमा छनोट हुने योजनामा छ। तर यो योजना सहज छैन।
यही भ्रमण यात्रामा यूएईले नेपाली टोलीलाई एक पटक धक्का दिइसकेको छ। समूह चरणको खेलमै यूएईले नेपाललाई १३ रनको हार चखाएको छ। आज यूएईसँग नेपालको विश्वकप छनोटका लागि अन्तिम र निर्णायक लडाइँमा छ। यदि आजको खेलमा नेपालले उत्कृष्ट रनरेटसहित जित हासिल गरेमा विश्वकपको यात्रा सुनिश्चित गर्छ।
यो शृंखलामा नेपालले यूएईसहित ३ टिमसँग खेल्यो। जसमा अन्यसँग जित र यूएईसँग हार भोग्नुपर्यो। यति मात्र होइन, यूएई यस्तो टोली हो, जसले हारको सामना गर्न परेको छैन।
पाँच खेलमा १० अंक पुर्याएको यूएई अंकमा मात्रै होइन नेट रनरेटमा पनि नेपालभन्दा अगाडि छ। चौथो खेलमा यूएईसँग १३ रनले पराजित भएसँगै नेपाल छनोटमा पछि परेको थियो।
यूएईले पाँचौं खेलमा थाइल्यान्डलाई नौ विकेटले हराउँदै छनोटको सम्भावना बलियो बनाएको छ। यस्तोमा बुधबार हुने यूएई र नेपालबीचको अन्तिम खेलले नै यो क्षेत्रबाट अर्को वर्ष मलेसिया हुने विश्वकपमा पुग्ने टोलीको टुंगो लगाउने छ।
युएईको अजमानस्थित द सेभेन स्टेडियममा हुने खेल नेपाली समयअनुसार १:३० बजेबाट सुरु हुनेछ। यो खेल जित्दै नेपाल विश्वकपमा पुग्न आतुर छ। यसबाहेक अफ्रिकाबाट नाइजेरीया, अमेरिकी क्षेत्रबाट अमेरिका, पूर्वी एसियाबाट सामोअ र युरोपबाट स्कटल्यान्डले विश्वकपमा आफ्नो स्थान सुरक्षित गरिसकेका छन्।