काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी टी–२० अलराउन्डरतर्फको वरीयतामा यथावत् रहेका छन्।अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले आज सार्वजनिक गरेको नयाँ वरीयतामा ऐरी दोस्रो स्थानमा यथावतै रहेका हुन्।
लराउन्डरतर्फ वरीयताको शीर्ष स्थानमा भने भारतका हार्दिक पाण्ड्या छन्। उनले २ स्थान सुधार गर्दै अलराउन्डरतर्फको वरीयताको शीर्ष स्थान कब्जा गरेका हुन्। वरीयताको तेस्रो स्थानमा इङ्ल्यान्डका लियाम लिभिङस्टोन रहेका छन्। यसअघि उनी शीर्षमा रहेका थिए। उनको वरीयता २ स्थान तल खस्किएको छ।
अस्ट्रेलियाका मार्कस स्टोइनिस चौथो स्थानमा यथावतै रहँदा श्रीलंकाका वानिन्दु हसरंगाले एक स्थान सुधार गर्दै शीर्ष पाँचमा उक्लिएका छन्। टी–२० ब्याटिङ वरीयतामा भने भारतका तिलक वर्माले ठूलो फड्को मारेका छन्। यसअघि ७२औँ स्थानमा रहेका उनले ६९ स्थान सुधार गर्दै वरीयताको तेस्रो स्थानमा उक्लिएका छन्।
अस्ट्रेलियाका ट्राभिस हेड ब्याटिङतर्फ वरीयताको शीर्ष स्थानमा रहँदा इङ्ल्यान्डका पिल साल्ट दोस्रो स्थानमा यथावत् छन्। भारतका सूर्यकुमार यादवको वरीयता एक स्थान तल खस्किँदै चौथो स्थानमा झर्दा पाकिस्तानका बाबर आजमको वरीयता पनि एक स्थान तल खस्किँदै पाँचौँ स्थानमा झरेका छन्।
ब्याटिङतर्फ नेपालका दीपेन्द्रसिंह ऐरीको पनि वरीयता खस्किएको छ। यसअघि ४७औँ स्थानमा रहेका उनको वरीयता एक स्थान तल खस्किएर ४८औँ स्थानमा झरेका छन्। नेपालका कप्तान रोहित पौडेलले भने वरीयतामा एक स्थान सुधार गरेका छन्। यसअघि ६१औँ स्थानमा रहेका उनी नयाँ वरीयतामा ६०औँ स्थानमा छन्। आसिफ शेखको पनि वरीयता दुई स्थान तल खस्किएर ७०औँ स्थानमा आइपुगेका छन्।