काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले सुखद् सुरुवात गरेको छ । शनिबार त्रिवि मैदान कीर्तिपुरमा भएको उद्घाटन खेलमा विराटनगर किंग्सलाई ८ विकेटले हराउँदै उसले सहज जित हात पारेको छ । जनकपुरको जितमा श्रीलंकन खेलाडी लाहिरु मिलनाथले सनसनीपूर्ण ब्याटिङ गरे । १५ रनको स्कोरमा दुई विकेट गुमाएको जनकपुरलाई उनले जितसम्म लगे । उनले ५३ बलमा ३ छक्का र ९ चौका प्रहार गर्दै नटआउट ७५ रन बनाए ।
उनलाई अर्का विदेशी खेलाडी हर्ष ठाकेरले २९ रन बनाएर साथ दिए । यी दुई खेलाडीबीच रनको साझेदारी भएको थियो । त्यसअघि कप्तान अनिल साह ५ रन र मार्की खेलाडी आसिफ शेख शून्यमा आउट भएका थिए ।
विराटनगरका लागि कप्तान सन्दीप लामिछानेको प्रभाव देखिएन । उनको बलमा पनि धार देखिएन । उनले चार ओभरमा कुनै सफलता हात नपारी ३० रन दिए । विराटनगरका लागि प्रतिश जीसी र क्रिस सोलेले एक एक विकेट लिएका थिए ।
त्यसअघि मार्टिन गुप्टिलले ५५ रन बनाएपछि विराटनगरले सम्मानजनक स्कोर बनाएको थियो । १९ ओभरमै अलआउट भएको विराटनगरका लागि अकिब इलियासले १५ रनको योगदान दिए भने अन्य ब्याटरले दोहोरो अंकमासमेत रन बनाउन सकेनन् । विराटनगरलाई सस्तैमा अलआउट गर्न जनकपुरका लागि ललित राजवंशीले ३ विकेट लिएका थिए भने किशोर महतो र हर्ष ठाकेरले दुई दुई विकेट लिएका थिए । यस्तै बिन माइक र मोहम्मद मोहसिनले एक एक विकेट लिएका थिए ।