काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को २४औं खेलमा काठमाडौंले जित हात पारेको छ । काठमाडौंले पोखरालाई ६ विकेटले हराएको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराले दिएको १३९ रनको लक्ष्य पछ्याएको काठमाडौंले ३५ बल बाँकी रहदै ४ विकेट गुमाएर भेट्यो ।
यो जितसँगै काठमाडौं शीर्ष ४ मा पुगेको छ । ६ खेलमा ३ जित हात पारेको काठमाडौंले प्लेअफ पुग्ने सम्भावना पनि कायम राखेको छ ।
काठमाडौंका ओपनर स्टेफेन इस्किनाजीले अर्थशतक पूरा गरे । उनले ३४ बलमा ६० रन बनाएर आउट भए । काठमाडौंका लागि स्टेफेन र माइकल लेभिटले पहिलो विकेटका लागि ५८ रनको साझेदारी गरेका थिए । लेभिटले ३२ रन बनाए ।
भीम सार्की २२, कप्तान करण केसी १ रनमा आउट हुँदा गेरहार्ड इरास्मस २५ रनमा अविजित रहे । बलिङमा पोखराका विपिन खत्रीले ३ र माइकल लिस्कले एक विकेट लिए ।