एजेन्सी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपतिमा निर्वाचित डोनल्ड ट्रम्पको मानहानि मामिलामा एबीसी न्यूजले १५ मिलियन डलर तिर्ने भएको छ। ट्रम्पविरुद्धको एक टिप्पणीमा दर्ता भएको मानहानिको मुद्दा मिलाउन त्यहाँको एबीसी न्यूजले उक्त रकम तिर्ने भएको हो।
एबीसी न्यूजका चर्चित प्रस्तोता जर्ज स्टेफानोपोलिसले गत मार्चमा एक अन्तवार्ताका क्रममा ट्रम्पलाई ‘बलात्कारको मुद्दामा दोषी’ भनेका थिए। यसविरुद्ध ट्रम्पले मानहानिको मुद्दा हालेका थिए। एबीसी न्यूजले यसबापत १५ मिलियन डलर अर्थात् झण्डै २ अर्ब नेपाली रुपैयाँ तिर्ने सहमति भएको हो।
सम्झौता अनुसार अब एबीसी न्यूजले राष्ट्रपति निर्वाचित ड्रम्पले स्थापित गरेको फाउण्डेसन वा राष्ट्रपतिको नामबाट स्थापित संग्रहालय अथवा जनहितका लागि योगदानका रूपमा रकम तिर्नेछ । त्यसबाहेक एबीसी न्यूजले कानूनी शुल्कबापत १० लाख डलर थप दिनेछ।