काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) को क्वालिफायरमा स्थान बनाएको छ । इलिमिनेटरमा बुधबार चितवन राइनोजलाई २१ रनले पराजित गर्दै कर्णालीले क्वालिफायरमा स्थान बनाएको हो ।
कर्णालीले अब सुदूरपश्चिम रोएल्स र जनकपुर बोल्ट्सबीच हुने पहिलो क्वालिफायरको पराजित हुने टिमसँग बिहीबार फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । फाइनल शनिबार हुनेछ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीले दिएको १७६ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित ओभरमा ९ विकेट गुमाएर १५४ रनमात्र बनाउन सक्यो । चितवनका लागि रवि बोपाराले मात्र ३४ बलमा ५३ रन बनाएपनि चितवनको हार भने टार्न सकेनन् । क्याप्टेन कुशल मल्ले २१, विपिन रावल १८ र लुक बेन्केस्टीन १६ रनमा आउट भए । शरद भेषावकर १० रनमा नटआउट रहे ।
कर्णालीका लागि जिशन मक्सुदले ३, क्याप्टेन सोमपाल कामी र नन्दन यादवले समान २ तथा विपिन शर्माले एक विकेट लिए ।
यसअघि पहिला ब्याटिङ गरेको कर्णालीले जयकिशन कोल्सावाला र विलिएम बोसिष्टोको अर्धशतक मद्दतमा निर्धारित ओभरमा ६ विकेट गुमाएर १७५ रन बनाएको थियो । कोल्सेवालाले ५३ र बोसिष्टोले ५२ रन बनाए । मात्र २३ बलको सामना गरेका चाडविक वाल्टन ४६ रनमा नटआयट रहे । चितवनका लागि सोएल तन्भिरले २ तथा शरद भेषावकर, रवि बोपारा र कुशल मल्लले समान एक विकेट लिए ।
लिग चरणमा चितवन तेस्रो र कर्णाली चौथो स्थानमा रहँदै प्लेअफमा प्रवेश गरेका थिए ।