काठमाडौं । सुदूरपश्चिम रोएल्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो क्वालिफायरमा जनकपुर बोल्ट्सलाई ८ विकेटले पराजित गर्दै सुदूरपश्चिम उपाधि नजिक पुगेको हो ।
पराजित जनकपुरले भने अब बिहीबार दोस्रो क्वालिफायरमा कर्णाली याक्सको सामना गर्नेछ । यी दुईबीचको विजेताले शनिबार सुदूरसँग फाइनल खेल्नेछ । कर्णाली इलिमिनेटरमा चितवन राइनोजलाई पराजित गर्दै क्वालिफायरमा छनोट भएको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले दिएको १४० रनको मध्यम लक्ष्य सुदूरपश्चिमले १८.३ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।
उसको जितमा विनोद भण्डारीले उल्लेख्य पारी खेले । उनी ५८ रनमा नटआउट रहे । ब्रेण्डोन म्याकमेनसँग दोस्रो विकेटका लागि ५९, सैफ जैबसँग पहिलो विकेटका लागि ५६ र क्याप्टेन दीपेन्द्र सिंह ऐरीसँग तेस्रो विकेटका लागि २६ रनको साझेदारी गर्दै विनोदले जितको आधार तयार पारेका थिए । क्याप्टेन ऐरी २० रनमा नटआउट रहँदा ब्रेण्डोन २५ रनमा आउट भए । सैफ जैबले ३२ रन बनाए ।
सुदूरका ब्याट्सम्यानबिरुद्ध जनकपुरका बलर निरिह देखिए । ललित राजवंशी र किशोर महतोले मात्र विकेट लिए । यसअघिका खेलमा किफायती बलिङ गरेका ललितले आफ्नो स्पेलमा ३७ रन खर्चिए । जनकपुरले ६ जना बलरलाई मौका दिएपनि किशोर र हर्स ठाकरबाहेक सबै नराम्ररी चुटिए ।
यसअघि पहिला ब्याटिङ गरेको जनकपुरले निर्धारित ओभरमा ९ विकेट गुमाएर १३९ रनको योगफल तयार पारेको थियो ।
जनकपुरका लागि जेम्स निसामले २३ बलमा ४५ रन बनाए पनि अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । शुभ कंसाकार २६ लाहिरु मिलान्था र हर्स ठाकर समान १२, क्याप्टेन आसिफ शेख र अरनिको यादव समान ११ रनमा आउट भए ।
सुदूरका लागि क्याप्टेन दीपेन्द्र सिंह ऐरीले ३, सैफ जैबले २ र स्कट कुग्गेलिनले एक विकेट लिए ।