काठमाडौं । मलेसियामा जारी यु–१९ टी–२० एसिया कपको सुपर चारको दोस्रो तथा अन्तिम खेलमा नेपाल बंगलादेशसँग ९ विकेटले पराजित भएको छ। वर्षाका कारण ११ ओभरमा घटाइएको खेलमा नेपाललाई हराएसँगै बंगलादेश फाइनल प्रवेश गरेको छ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले दिएको ५५ रनको लक्ष्य बंगलादेशले ९.५ ओभरमा १ विकेट गुमाएर पूरा गरेको थियो।
बंगलादेशका लागि फाहोमिद चोयाले २६ रनको अविजित इनिङ्स खेल्दा मोसामत एभाले १८ रन बनाइन्। त्यस्तै, मोसामत सुमिया अख्तरले १० रनको नटआउट इनिङ्स खेलिन्। नेपालका लागि कुसुम गोदारले १ विकेट लिएकी थिइन्।
त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ११ ओभरमा ८ विकेट गुमाएर ५४ रन बनाएको थियो। नेपालका लागि सावित्री धामीले ११ रन बनाउनु सर्वाधिक रह्यो। उनीबाहेक कुनै पनि खेलाडीले दोहोरो स्कोरमा रन बनाउन सकेनन्।
नेपाललाई सस्तैमा समेट्ने क्रममा बंगलादेशकी फर्जना एस्मानी, अनिसा अख्तर सोबा, फहोमिदा चोया र हबिबा इस्लामले समान १–१ विकेट लिए।
सुपर ४ को शीर्षस्थानमा रहेर भारतले फाइनलमा स्थान पक्का गर्दा दोस्रो स्थानमा रहँदै बंगलादेश फाइनल पुग्यो। भारतको ७ अंक हुँदा बंगलादेशले ६ र नेपाल ४ अंक जोड्यो। श्रीलंका ३ अंक मात्र जोड्न सफल भयो।