काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएर कांग्रेसले गल्ती गरेको शेखर कोइरालाले बताएका छन् । पार्टीभित्र अल्पमतले राखेको सुझाव नेतृत्वले नसुन्दा समस्या भएको कोइरालाले बताएका हुन् । काठमाडौंमा आइतबार आफ्नो पक्षको भेलामा शेखर कोइरालाले प्रधानमन्त्रीले मागेको विश्वासको मत विभाजनका क्रममा तटस्थ बस्नुपर्ने सुझाव दिएको पनि बताएका छन् ।
बहुमतको निर्णय मान्दा बाध्यतामा परेको पनि कोइरालाले बताएका छन् । उनले पार्टी सभापति शेरबहादुर देउवाले बहुमतको आडमा बाध्यतामा पारेको बताएका हुन् ।
पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न कांग्रेसको कोइराला समूहले छलफल गरिरहेको छ । कांग्रेस अहिले सत्तापक्ष हो कि प्रतिपक्ष भन्ने प्रश्न उठेको बेला कोइरालाको यस्तो अभिव्यक्ति आएको हो ।
कांग्रेससँग गठबन्धन गरेर निर्वाचनमा सहभागी भएका माओवादी केन्द्रका अध्यक्ष दाहाल एमालेको समर्थनमा प्रधानमन्त्री बनेका थिए । पुस १० मा दाहालले कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग सत्ता साझेदारी गरेका थिए । सोही दिन उनी प्रधानमन्त्री नियुक्त भएका थिए । पुस २६ गते प्रतिनिधिसभामा विश्वासको मत मागेका दाहालले कांग्रेसको पनि विश्वास पाएका थिए ।