काठमाडौं । ३२ औँ त्रिवेणी कपको उपाधि एपिएफ काठमाडौंले जितेको छ । लमजुङ सदरमुकाम बेसीशहरको सहजीस्थित त्रिवेणी रंगशालामा शनिबार भएको फाइनल खेलमा विवाईसी भोटेओडारलाई पेनाल्टी सुटआउटमा ४–३ को गोल अन्तरले हराउँदै एपिएफ काठमाडौंले ३२ औँ त्रिवेणी कपको उपाधि जितेको हो ।
निर्धारित खेल समयमा दुई-दुई गोलको बराबरी भएपछि समय थप गरिएको थियो । अतिरिक्त समयमा कुनै पनि गोल हुन नसकेपछि ट्राइब्रेकरमा तिनका विरुद्ध चार गोल गरि एपिएफ काठमाडौंले त्रिवेणी कपको उपाधि जितेको हो ।
उपाधि विजेता एपिएफ काठमाडौंले १२ लाख पुरस्कार राशीसहित त्रिवेणी कप, स्वर्णपदक र प्रमाणपत्र हात पारेको छ भने उपविजेता बिवाईसी भोटेओडारले ६ लाख रुपैयासहित, रजतपदक र प्रमाणपत्र हात पारेको छ ।
फाइनल खेलमा एपिएफका ऐन्जल श्रेष्ठ म्यान अफ दी म्याच घोषित भए । प्रतियोगितामा खेल अवधिभर ६ गोल गरी एपिएफका प्रदिप लामाले सर्वाधिक गोलकर्ताको उपाधि हात पारेको छ भने जनही नगद २५ हजार पुरस्कार सहित पदक र प्रमाणपत्र प्राप्त गरेको छ ।
त्यसैगरी बिवाईसीका ईमिनियलले उत्कृष्ट खेलाडीको उपाधि हात पारेको छ । उत्कृष्ट खेलाडीलाई नगद २५ हजार र प्रमाणपत्र प्रदान गरिएको छ ।
प्रतियोगिताको सेमीफाइनलमा पुग्ने दुई टिम त्रिवेणी युवा क्लब र टोखा भगवती फुटबल क्लव काठमाडौंलाई नगद दुई-दुई लाख र प्रमाण पत्र प्रदान गरीएको आयोजक क्लबका अध्यक्ष राजकुमार घिमिरेले जानकारी दिए ।
प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्रराज पाण्डेले त्रिवेणी युवा क्लबबाट आयोजना हुँदै आएको राष्ट्रिय स्तरको त्रिवेणी कपले लमजुङलाई मात्र नभई सिंगो गणडकी प्रदेशलाई नै चिनाउनमा टेवा पुग्ने बताए । मन्त्री पाण्डेले खेलको माध्यमबाट गण्डकी प्रदेशलाई पर्यटकीय राजधानी बनाउनु पर्नेमा जोड दिए ।