लमजुङ । लमजुङको दोर्दी गाउँपालिकाका नौ वटै वडामा सोमबारदेखि राष्ट्रिय परिचयपत्र विवरण संकलन शुरु भएको छ । सबै नागरिक समेट्ने गरी दोर्दीमा वडास्तरीय घुम्ती शिविर संचालन गरी राष्ट्रिय परिचयपत्र विवरण संकलन सुरु गरेको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी सुशिल वैद्यले राष्ट्रिय परिचय पत्र बनाउन नागरिकलाई सहज होस् भन्ने लक्ष्यका साथ वडा वडामै पुगेर बनाउन शुरु गरेको बताए ।
यसअघि जिल्ला प्रशासन कार्यालयबाट मात्रै सो विवरण संकलन हुँदै आएको थियो । विवरण संकलनका लागि नेपाली नागरिकता अनिवार्य छ तर सोको विकल्पमा राहदानी वा शैक्षिक प्रमाणपत्र पेस गर्नेको पनि परिचय पत्र संकलन गर्ने गरेको प्रशासन कार्यालयले जनाएको छ । हाल जिल्ला प्रशासनमा विवरण संकलन गर्दा तत्कालै परिचयपत्र नम्बर उपलब्ध हुने भए पनि अभियानका क्रममा भने विवरण प्रविष्ट गरेको १५ दिनपछि मात्रै नम्बर उपलब्ध हुने बताइएको । राष्ट्रिय परिचयपत्र नम्बर तत्कालै आवश्यक परेका नागरिकलाई भने जिल्ला प्रशासन कार्यालयमै आएर विवरण भर्नुपर्ने प्रमुख जिल्ला अधिकारी वैद्यको भनाई छ पञ्जीकरण विभागबाट आएका कर्मचारीहरुले सो सेवा दिइरहेका छन् ।
दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले यसरी पालिकाको वडा वडाबाटै राष्ट्रिय परिचय पत्र विवरण संकलन भएसँगै नागरिकलाई सहज भएको बताए । प्रशासन कार्यालयमै पुग्नुपर्ने, त्यहाँ भीडभाड हुँदा समय लाग्ने तथा झन्झटिलो हुने गरेपनि अहिले भने आ आफ्नै वडामा सो सुविधा उपलब्ध भएकाले उमेर पुगेका सबै नागरिकले सो परिचय पत्र बनाउनका लागि उनले आग्रह गरे ।