लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकास्थित हर्षिङडाँडा पछिल्लो समय पर्यटकको गन्तव्य स्थलको रुपमा परिणत हुँदै गएको छ । वडा नं ३ मा रहेको हर्षिङडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको चहल पहल बढेको छ ।
प्राकृतिक हिसावले अति सुन्दर र ऐतिहासिक हिसावले पनि विषेश महत्व बोकेको पर्यटयिक स्थल हर्षिडाँडाको प्रचार प्रसारसँगै आन्तरिक पर्यटक आउन थालेको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए ।
हर्षिङडाँडा प्रवद्र्धनका लागि गाउँपालिकाले विशेष प्राथमिकतामा राखेर काम गरिरहेको अध्यक्ष गुरुङले बताए । खुल्ला समथर भुभाग, चारैतिरको दृश्यावलोकन गर्न सकिने, नजिकै देखिने मनोरम हिमशृखला, मस्र्याङ्दी भ्याली यसको मुख्य आकर्षणहरु रहेको गुरुङले बताउनुभयो । पर्यटकीय स्थल हर्सिङडाँडा पुग्ने सडक स्तरउन्नतीलगायतका काममा गाउँपालिकाले सहयोग गरिरहेको छ ।
हर्सिङडाँडा पुग्ने पर्यटकहरु रात विताउने र क्यामफायर गरेर रमाउने गरेको हर्षिङ कम्युनिटि क्याम्प साइटका सञ्चालक पुर्ण गुरुङले बताए ।
राष्ट्रिय विभूति बीर भक्ति थापाले बालापनमा गाईबस्तु चराएको हर्सिङडाँडा उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा विकसित हुन थालेको छ । कोरोना सङ्क्रमणको समयमा लकडाउन हुँदा सबैतिर पर्यटक आगमन ठप्प हुँदापनि हर्सिङडाँडामा पर्यटकहरु पुगेका थिए ।
यस डाँडाबाट मस्र्याङ्दी गाउँपालिकाको पर्यटकीय गाउँ सिउरुङ, भुस्मे, ढंगै, घनपोखरा, सिम्पानी, खुदीलगायत अधिकांश ठाउँ अवलोकन गर्न सकिन्छ ।
त्यस्तै, स्मार्ट भिलेज घलेगाउँ, कल्मेडाँडा, बेँसीसहर बजार, मस्र्याङ्दी र खुदीखोलाको नागबेली, डा. हर्क पिक हिमाल, मनासलु रेन्ज, बुद्ध हिमाललगायत अवलोकन गर्न सकिन्छ । समुन्द्री सतहबाट २ हजार २ सय ८४ मिटर उचाईमा रहेको यो ठाउँमा बेसीसहरदेखि खुदी हुँदै करिब २० किलोमिटरको यात्रामा पुग्न सकिन्छ ।