काठमाडौं । घरेलु मैदानमा नेपालले त्रिकोणीय टी २० महिला क्रिकेट प्रतियोगितामा लगातार दोस्रो हार व्यहोरेको छ । नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्ड सहभागी प्रतियोगितामा शनिबार नेपालले त्रिवि मैदान कीर्तिपुरमा दोस्रो हार व्यहोरेको हो ।
थाइल्डले नेपाललाई चार विकेटले हराउँदै लगातार दोस्रो जित हात पारेको छ । नेपालले पहिला ब्याटिङ गर्दै ९ विकेटको क्षतिमा १०१ रन बनाएको थियो । जवाफमा थाइल्यान्डले ६ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो । थाइल्यान्डका जितमा नान्नपट कोन्चारोन्कैले नटआउट ६० रन बनाइन् ।
नेपालका लागि मनिषा उपाध्यायले दुई विकेट लिइन् भने कविता कुँवर, कविता जोशी र रुविना क्षेत्रीले एक एक विकेट लिए । त्यसअघि नेपालका लागि कविता कुँवर र विन्दु रावलले २५–२५ रन बनाएका थिए भने कप्तान इन्दु बर्माले १५ रनको योगदान दिएकी थिइन् । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन् ।
नेपाल पहिलो खेलमा बिहीबार नेदरल्यान्ड्ससँग पराजित भएको थियो । उता शुक्रबार थाइल्यान्डले नेदरल्यान्ड्सलाई पराजित गरेको थियो । तीन टिम सहभागी प्रतियोगितामा रहेक टिमले एकअर्कासँग दुई दुई खेल खेल्नेछन् ।