काठमाडौं । भारतको ओडिसा राज्यस्थित कालिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) छात्रावासका दुई सुरक्षा कर्मचारी बर्खास्तीमा परेका छन्।
विटेक तेस्रो वर्षमा अध्ययनरत बुटवलकी छात्रा प्रकृति लम्सालको शंकास्पद ‘मृत्यु’ पश्चात विरोध गर्ने नेपाली विद्यार्थीलाई रातारात निकाल्ने र दुर्व्यवहार गरेपछि सुरक्षा अधिकारीलाई कारबाही गरिएको केआईआईटीका रजिष्टारले जारी गरेको सूचनामा जनाइएको छ।
उनले जारी गरेको सूचनामा भनिएको छ, ‘अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालय (IRO) का एक वरिष्ठ प्रशासनिक अधिकारीलाई अनुसन्धानको लागि निलम्बन गरिएको छ।’
लम्सालको शंकास्पद ‘मृत्यु’ लाई विश्वविद्यालयले आत्महत्या भनेपछि त्यहाँ अध्ययनरत विद्यार्थीहरू आक्रोशित बनेका थिए। उनीहरूले घटनाको छानविनको माग राख्दै प्रदर्शनसमेत गरेका थिए।
त्यसपछि त्यहाँ अध्ययन गरिरहेका नेपाली विद्यार्थीहरूलाई निकालिएको थियो। चौतर्फी दबाब बढ्दै गएपछि निकालिएका विद्यार्थीलाई पुनः फर्काइएको थियो। तर विद्यार्थीहरू अझै त्रासमा रहेका बताइएको छ।