काठमाडौं । सावित्रा भण्डारी ‘साम्बा’ को निर्णायक गोलमा नेपालले लेबनानलाई १-० ले पराजित गर्दै एक खेल अगावै फाइनलमा स्थान सुरक्षित गरेको छ।
फोर नेशन्स महिला अन्तर्राष्ट्रिय फुटबल च्याम्पियनसिप अन्तर्गत दशरथ रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा सावित्राको मात्र एक गोल निर्णायक बन्यो।
पहिलो हाफमा ४१ औं मिनेटमा उनले बक्स बाहिरबाट प्रहार गरेको बल लेबनानकी गोलकिपर फराह इल टयारलाई छुन पुग्दै गोलपोस्टभित्र समेटियो।
नेपालले खेलको सुरुदेखि नै आक्रामक शैली अपनाएको थियो। लेबनानले नेपालविरुद्ध विभिन्न अवसर सिर्जना गरे पनि गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बाले उत्कृष्ट बचाउ गर्दै गोल हुन दिइनन्।
नेपालले प्लेइङ–११ मा दुई परिवर्तन गर्दै मैदान उत्रिएको थियो। रस्मी कुमारी घिसिङको स्थानमा सावित्रा भण्डारी र घाइते निशा थोकरको स्थानमा समीक्षा घिमिरे समावेश भएका थिए।
नेपालले यसअघि किर्गिस्तानलाई १-० ले पराजित गरेको थियो। आजको जितसँगै नेपालले म्यानमारसँगै फाइनलमा स्थान सुरक्षित गर्यो।
यसअघि भएको पहिलो खेलमा म्यानमारले किर्गिस्तानलाई ५-० को फराकिलो अन्तरले हराउँदै लगातार दोस्रो जित दर्ता गरेको थियो। अब नेपाल र म्यानमारबीचको खेल समूह चरणको औपचारिकता मात्र हुनेछ।