एजेन्सी । भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा लागेको महाकुम्भ मेला सकिएको छ । मेलामा पुगेर ६६ करोडभन्दा बढी व्यक्तिले गंगा नदीमा स्नान गरेको अधिकारीहरुले बताएका छन् । महाशिवरात्रिको दिनदेखि महाकुम्भ औपचारिक रुपमा समापन भएको घोषणा गरिएको छ ।
यद्यपि, मेलास्थल खाली हुन भने १ साता लाग्ने अनुमान गरिएको छ । महाकुम्भ मेला गत पुस २९ (जनवरी १३)देखि सुरु भएको हो ।भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथका अनुसार ४५ दिनको अवधिमा ६६ करोड २१ लाखभन्दा बढीले गंगामा स्नान गरेका छन् । सामाजिक सञ्जाल एक्समा उनले विश्व इतिहासमा यो अदभूत भएको उल्लेख गरेका छन् ।
महाकुम्भ मेलाको अन्तिम दिन अर्थात् शिवरात्रिको दिन मात्रै करिब डेढ करोडले गंगामा स्नान गरेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् । शिवरात्रिको दिन भारतीय वायुसेनाले श्रद्धालुहरुमाथि पुष्पवृष्टि गर्दै ‘एयर–सो’ प्रदर्शन गरेको थियो ।