एजेन्सी । इजरायलले गाजा युद्धविरामको अवधि ६ हप्ता थपेको छ । युद्धविरामको पहिलो चरण सकिएलगत्तै इजरायलले ४२ दिन युद्धविराम अवधि थप गरेको हो ।
हमास र इजरायलबीच जनवरी १९ देखि युद्धविराम लागू भएको थियो । यसअन्र्ततग पहिलो चरण मार्च १ अर्थात् शनिबार सकिएको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजामा युद्धविराम सम्झौताको अस्थायी विस्तारलाई अनुमोदन गरेका छन् । रमजान र यहुदीहरूको सुरक्षालाई ध्यानमा राख्दै सरकारले गाजा युद्धविरामलाई थप ६ हप्ताका लागि अस्थायी रूपमा विस्तार गर्न अनुमोदन गरेको नेतन्याहुले बताएका छन् ।
यो प्रस्ताव अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्व दूत स्टिभ ह्विटलले गरेका हुन् । तर इजरायलले वार्ताको अर्को चरण असफल भएको महसुस गरेमा ६ हप्ता अर्थात् ४२ दिनपछि उसले पुनः लडाइँ सुरु गर्न सक्ने संकेत पनि गरेको छ ।
पहिलो चरणको युद्धविरामको अवधिमा हमासले २५ जना जीवित र ८ जनाको शव इजरायललाई फिर्ता गरेको छ । बदलामा इजरायलले १ हजार ९ सय प्यालेस्टिनी कैदीबन्दी रिहा गरेको छ ।
सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा अचानक हमला गरेपछि दुई पक्षबीच युद्ध भइरहेको थियो । १५ महिनाभन्दा बढी लामो युुद्धपछि जनवरी १९ देखि युद्धविराम गरिएको हो ।
पहिलो चरणमा हमास लडाकु समूहको नियन्त्रणमा रहेका ठानिएका नेपालका विपिन जोशीको अवस्था अझै अज्ञात छ । हमासले कब्जामा लिएका २५१ बन्धकमध्ये अझै ५८ जना बाँकी रहेका प्रारम्भिक जानकारी छ ।