काठमाडौं । नेपाल राष्ट्रिय फुटबल टिमका नवनियुक्त प्रशिक्षक म्याट रोसले नेपाली पुरुष टिमलाई साफ च्याम्पियनसिप जिताउने चाहना रहेको बताएका छन्। सोमबार पत्रकारसँग उनले नेपाली टिमलाई साफ च्याम्पियनसिप जिताउने इच्छा रहेको बताए। एसियन क्वालिफार्यसमा पनि नेपाललाई सकभर क्वालिफाइ गराउन आफू प्रयासरत रहने उनको भनाइ छ। ‘नेपाली टिमलाई साफ च्याम्पियसिप जिताउन चाहन्छु। एसियन क्वालिफार्यसका लागि थोरै समय छ। तैपनि मेरो तर्फबाट क्वालिफाइ गराउन कोसिस गर्नेछु,’ उनले भने।
सोमबार अखिल नेपाल फुटबल संघ(एन्फा)ले ललितपुरमा आयोजना गरेको अन्तर्क्रियामा उनले नेपाललाई एसियन क्वालिफायर्स छनोट गराउनेदेखि साफ च्याम्पियनसिप लगायतका अन्तर्राष्ट्रिय प्रतियोगिता जित्नका लागि ध्यान केन्द्रित गर्ने बताए। नेपालमा फुटबलको लोकप्रियता धेरै देखिएको भन्दै उनले फुटबल खेलको विकासका लागि आफूले आवश्यक भूमिका खेल्ने जिकिर गरे। स्पष्ट भिजन र योजना भए कुनै पनि खेल जित्नका लागि कठिन नभएको उनले बताए।
उनले नेपाली टिममा केही सुधारको आवश्यकता आफूले देखेको भन्दै जुनसुकै खेलमा पनि उच्च मनोबलका साथ मैदान उत्रन जरुरी रहेको जिकिर गरे। आफ्नो कार्यकालमा दबाबमुक्त भएर टिमको विकासमा लाग्ने उनको भनाइ छ। ‘नेपालमा निकै राम्रो क्षमता भएको खेलाडीहरू छन्। केही उदार भएर सुधार गर्नु जरुरी छ,’ उनले भने।