एजेन्सी । क्यानडाका नयाँ प्रधानमन्त्री मार्क कार्नी बन्ने भएका छन्। उनी लिबरल पार्टीको नयाँ नेता चुनिएसँगै केही दिनमा प्रधानमन्त्री नियुक्त हुने भएका हुन्। लिबरल पार्टीका नेता जस्टिन ट्रुडोले गत जनवरीमा पार्टी प्रमुखबाट राजीनामा दिएका थिए। त्यसयता उनी अन्तरिम प्रधानमन्त्री थिए।
आइतबार अर्थमन्त्रीसमेत रहेका क्रिस्टिया फ्रिलान्डलाई हराउँदै कार्नी लिबरल पार्टीको नयाँ प्रमुख चुनिएका हुन्। उनले ८६ प्रतिशत मत पाएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। ५९ वर्षीय कार्नी क्यानडाको केन्द्रीय बैंक र बेलायती केन्द्रीय बैंकका पूर्व गभर्नर हुन्। उनले केही दिनमै प्रधानमन्त्रीको शपथ लिनेछन्।
हाल प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिरहेका जस्टिन ट्रुडोले आइतबार प्रधानमन्त्रीका रूपमा अन्तिम सम्बोधन गरे। त्यतिबेला उनी भावुक देखिएको भनेर अन्तर्राष्ट्रिय संचारमाध्यमहरूले जनाएका छन्।
उनले नयाँ प्रधानमन्त्री बन्न लागेका कार्नीलाई देशको सवालमा कुनैपनि गल्ती नगर्न सुझाव दिएका छन्। उनले आफ्नो १० वर्षे कार्यकालको गर्व पनि गरे। नयाँ प्रधानमन्त्री बन्न लागेका कार्नीले ट्रम्पको आलोचना गरे। उनले ट्रम्पसँगको व्यापार युद्ध जित्ने घोषणा पनि गरे।