काठमाडौं । वर्तमान सत्तागठबन्धन टुट्ने सम्भावना बढेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीलाई गृहमन्त्रालय नदिने प्रधानमन्त्रीको अडान र राष्ट्रिय सहमतिको नाममा राष्ट्रपति कांग्रेसलाई दिने चलखेलका कारण वर्तमान सत्ता गठबन्धन टुट्ने सम्भावना बढेको हो ।
प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले नागरिकता सम्बन्धी विवादको विषयमा सर्वोच्चबाट फैसला भई उपप्रधान तथा गृहमन्त्रीको पद गुमाएका रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः गृहमन्त्रालय दिने मन गरेका छैनन् ।
रास्वपाले भने सत्ता गठबन्धनबीचको भागबण्डामा गृहमन्त्रालय आफूले पाइसकेको उल्लेख गर्दै सो मन्त्रालय पुनः आफैंले पाउनुपर्ने अडान छाडेको छैन । रास्वपाको अडानलाई बल पुग्ने गरी एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई भेटेरै गृहमन्त्रालयमा पुनः रवि लामिछानेलाई नै ल्याउनुपर्ने दवाब दिएका समाचारहरु बाहिर आइसकेका छन् ।
प्रधानमन्त्री दाहाल भने रास्वपालाई गृहमन्त्रालय नदिई आफैंसँग राख्ने र अन्य कुनै मन्त्रालय दिएर झारा टार्ने लाइनमा छन् । तर, रास्वपा भने गृहमन्त्रालय आफूले पुनः नपाए सरकारबाटै बाहिरिने तयारीमा छ ।
यदि रास्वपा सरकारबाट बाहिरियो भने सन्निकट राष्ट्रपति निर्वाचनमा एमाले अझै कमजोर बन्नेछ । राष्ट्रिय सहमतिको नाममा प्रचण्डले कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउन चाहेका छन् ।
प्रचण्डको दोश्रो प्राथमिकतामा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई छन् । विभिन्न विकल्पहरु तयार गरी प्रचण्ड एमालेले उठाएको उम्मेद्वारलाई राष्ट्रपतिमा जिताउन नहुने प्रष्ट अडानमा देखिन्छन् । एमाले भने सत्ता गठबन्धन बन्दाखेरि नै राष्ट्रपति आफ्नो दलले पाउने सहमति भएको भन्दै त्यसको कार्यान्वयनमा इमानदार बन्नुपर्नेमा जोड दिइरहेको छ ।
प्रचण्डको कुनै पनि हालतमा राष्ट्रपति एमालेलाई नदिने र ओलीको जुनसुकै अवस्थामा पनि राष्ट्रपतिमा आफ्नो उम्मेद्वारलाई जिताइछाड्ने अडानले वर्तमान सत्ता गठबन्धनभित्र हलचल ल्याउने देखिन्छ । राष्ट्रपति र रास्वपाले गृहमन्त्रालय दिने प्रकरणपछि ओली र प्रचण्डबीच संशय अझै बढेर गएको विश्लेषण हुन थालेको छ ।