काठमाडौं । राप्रपाका दुई नेता धवल शमशेर राणा र रविन्द्र मिश्रलाई थप १५ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ।
चैत १५ गतेको तीनकुने घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सांसद समेत रहेका राणा र मिश्रलाई राज्यविरुद्धको अपराधमा अनुसन्धान गरिरहेको छ।
काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक कुमार श्रेष्ठले राज्यविरुद्धको अपराधमा अनुसन्धान गर्न राणासहित २० जनालाई थप अनुसन्धान गर्न १५ दिनको म्याद थप भएको जानकारी दिए।
तीनकुने घटनामै संलग्न रहेको आरोपमा अपराधिक उपद्रव र संगठित अपराधमा अनुसन्धान गर्न अरु ७८ जनालाई पनि समातिएको छ। उनीहरुलाई अनुसन्धानका लागिथ थप २० दिनको समय अदालतले दिएको छ।