काठमाडौं । हङकङमा आजदेखि सुरु भएको चार देश सम्मिलित टि २० प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ । नेपालले कतारलाई ८ विकेटको फराकिलो अन्तरले पराजित गरेको हो ।
कतारले दिएको १ सय ५२ रनको लक्ष्य नेपालले १७ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । ओपनर कुशल भुर्तेल र आसिफ शेखले आक्रामक शुरुवात गर्दै ५ ओभरमै ८० रनको साझेदारी गरेका थिए ।
छैटौं ओभरमा आउट हुनुअघि कुशल भुर्तेलले १९ बलमा ३८ रन प्रहार गरे । उनले ४ चौका र ३ छक्का प्रहार गरे । आठौँ ओभरको अन्तिम बलमा आउट भएका आसिफले २१ बलमा ४ छक्का हान्दै ३३ रनको योगदान दिए ।
दुई ओपनर पेभेलियन फर्केपछि सुस्ताएको नेपाललाई कप्तान रोहित पौडेल र बसिर अहमदले जितसम्म पुर्याए । कप्तान रोहित २९ बलमा २ चौका र १ छक्कासहित ३७ रनमा नटआउट रहे । बसीरले ३३ बलमा २ चौकासहित नटआउट ३० रन जोडे । कतारका लागि दुवै विकेट मुजिब उर रहमानले लिए ।
कतारले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५१ रन जोडेको थियो ।कतारका लागि कप्तान इक्रम उल्लाह खानले सर्वाधिक ५४ रन बनाए । इक्रम उल्लाहले ५ चौका र २ छक्का प्रहार गरे ।
शहजाब जमिलले २१ बलमा ४ छक्कासहित ३१ रन बनाए । मुजिब उर रहमान २० र मोहम्मद इर्साद १८ रनमा नटआउट रहे । नेपालका लागि करण केसी, ललित राजवंशी, सोमपाल कामी, नन्दन यादव र गुलशन झाले १–१ विकेट लिए ।
नेपालसहित कुवेत, कतार र हङकङ सहभागी प्रतियोगिताको आज हुने दोस्रो खेलमा हङकङ र कुवेत भीड्नेछन । भोलि नेपालले कुवेतको सामना गर्नेछ । शुक्रबार लिग चरणको अन्तिम खेलपछि शीर्ष दुई टोलीले शनिबार फाइनल खेल्नेछन् ।