काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने नेपालीलाई ठगी गरे तत्काल कारबाही गर्ने चेतावनी दिएका छन् ।
आइतवार मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री अर्यालले कुनै पनि म्यानपावर र व्यक्तिगतरूपबाट वैदेशिक रोजगारीमा जाने नेपालीलाई ठगी गरे सरकारले कठोरतापूर्वक तत्काल कारबाही गर्ने बताए ।
सरकारले सुध्रन चाहने म्यानपावर व्यवसायीहरूलाई सुध्रनका लागि समय दिएको पनि उनले बताए । ठगी गर्ने म्यानपावरलाई कारबाही गर्न मन्त्रालय कसैको दबाबबाट पछाडि नहट्ने उनको भनाइ छ ।
उनले भने, ‘म्यानपावर र व्यवसायीलाई सुध्रिनका लागि समय दिन्छौँ । दिएको समयमा पनि नसुध्रिए निर्मम भएर मन्त्रालयले कारबाही गर्छ । वैदेशिक रोजगारीमा पठाउने नाममा नागरिकलाई ठगी गर्ने म्यानपावर र व्यवसायीलाई कारबाही गर्न कसैले रोकेर मन्त्री र मन्त्रालय रोकिँदैन । म मन्त्री भएर मन्त्रालयमा भएसम्म यस्तो काम हुँदैन । भयो भने प्रमाणसमेत ल्याएर आउँदा हुन्छ ।’
मन्त्री अर्यालले पछिल्लो समय म्यानपावर संस्थाको नामबाट भन्दा व्यक्तिगतरूपमा पैसा लिएर ठगी गरेका गुनासो बढेकाले मन्त्रालयले त्यहीअनुसार अनुसन्धान गरिरहेको बताए ।