काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई पूर्पक्षका लागि थुनामा पठाउने उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेशविरुद्ध सर्वोच्चमा रिट दिएका छन् ।
सर्वोच्च अदालतका सूचना अधिकारी सहायक प्रवक्ता निराजन पाण्डेले लामिछानेको तर्फबाट शुक्रबार रवि पत्नी निकिता पौडेलले आफै पुगेर रिट दर्ता गरेको र आइतबारलाई पेशी तोकिएको जानकारी दिए ।
सहकारी ठगी र संगठित अपराध मुद्दामा जिल्ला अदालत रुपन्देहीले एक करोड रुपैयाँ धरौटीमा छाड्ने आदेशलाई उच्च अदालत तुलसीपुरले उल्टाउँदै पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । उक्त आदेश बदरको माग गर्दै लामिछानेले बाहिरबाटै मुद्दा लड्न पाउनुपर्ने माग गरेका छन् । यसअघि रुपन्देही जिल्ला अदालतले रविलाई १ करोड धरौटीमा छाडेको थियो ।
गत माघ ६ गते जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीले बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी प्रकरणमा सभापति लामिछाने समेतलाई प्रतिवादी बनाउँदै जिल्ला अदालत रूपन्देहीमा मुद्दा दायर गरेको थियो ।