काठमाडौं । हङकङमा आइतबार सम्पन्न चारदेशीय टी–२० सिरिजमा नेपाल उपविजेता बनेको छ । टस जितेर नेपालले कुवेतलाई पहिला ब्याटिङको निम्तो दिएको थियो । कुवेतले १७४ रन बनाएपछि विशाल लक्ष्य पछ्याएको नेपाल १७१ रन बनाउँदा अलआउट भयो । नेपालका लागि बसिर अहमदले ८० रन बनाए पनि टिमलाई उपाधि दिलाउन सकेनन् ।
नेपाललाई अन्तिम ओभरमा जितका लागि ११ रन आवश्यक रहेको अवस्थामा बसिरले नोबलमा चौका प्रहार गरी नेपाललाई जित नजिक ल्याएका थिए । तर त्यसपछि दुई बल डट खेलेका उनले तेस्रो बलमा छक्का हान्ने प्रयास गरे र आउट भए । यससँगै नेपाल कुवेतसँग तीन रनले पराजित हुन पुग्यो र उपाधि पनि हातबाट फुत्कियो ।
विशाल लक्ष्य पछ्याएको नेपालको टपअर्डर र मध्यक्रम ध्वस्त भएको थियो । तर, नन्दन यादव र बसिरले विस्फोटक ब्याटिङ गरेपछि नेपालको आशा जागेको थियो । नेपालले १४ ओभरको खेल सकिँदा ९२ रन जोडेको थियो र आठौँ विकेटका रूपमा करण केसी आउट भएका थिए । त्यसपछि क्रिजमा आएका नन्दन यादवले ४ छक्का र २ चौकासहित १४ बलमा ३७ रन बनाए । उनले बसिरसँग नवौँ विकेटका लागि २८ बलमा ७६ रनको साझेदारी गरेका थिए । तर बसिरले फिसिङ लाइन क्रस गराउन सकेनन् ।
नेपालका लागि आसिफ शेखले २१ रन बनाएका थिए भने कुशल मल्ल र दीपेन्द्रसिंह ऐरी शून्यमा आउट भएका थिए । ललित राजवंशी शून्यमा नटआउट रहे । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।