काठमाडौं । डुम्रे बेसिशहर सडकखण्ड अन्तर्गत लमजुङको उदिपुरको सडकखण्ड स्तरोन्नति गरिने भएको छ । गत वर्षको वर्षायाममा खसेको पहिरोको कारण पटक–पटक सडक अबरुद्ध हुँदै आएको छ ।
अहिले सडकमा बेला बेला पहिरो खस्ने र पन्छाउँदै यातायात सञ्चालन गर्दै आइएको छ । उक्त सडकको मस्र्याङ्दी पारीबाट वैकल्पिक सडक निर्माण गरिने भएको हो । सडकको विषयलाई लिएर लमजुङबाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवं नेकपा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र नेकपा एमाले केन्द्रीय सदस्य एवं संविधान सभा सदस्य जमीन्द्रमान घलेले उपप्रधान तथा भौतिक पूर्वाधार एवं यातायात व्यवस्था मन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा र सडक विभागका महानिर्देशक अर्जुनजंग थापासँग सोमबार भेटेका छन् ।
भेटका क्रममा उदिपुर पहिरोको बारे जानकारी गराएको र यसको विकल्पको रुपमा मस्र्याङ्दी पारीको करिब ११ किलोमिटर सडकलाई स्तरोन्नति गरेमा सहज हुने बताएका थिए । मन्त्री श्रेष्ठले उक्त सडकको स्तरोन्नतिको कार्य अघि बढाउन सचिव शर्मा र महानिर्देशक थापालाई निर्देशन दिएका छन् ।
नेता घलेका अनुसार मन्त्री, मन्त्रालयका सचिव र सडक महानिर्देशक बैकल्पिक सडक निर्माणमा सकरात्मक देखिएको र केही समयमै उदिपुरबाट रिट्ठेबगरको पुल तरेर बेसिशहर नगरपालिका ११ र १० हुँदै मस्र्याङ्दीका पुल तरेर बेसिशहरसम्मको सडक स्तरोन्नति हुने आश्वासन पाएको बताए । यसका लागि करिब ११ करोड बजेट विनियोजन गर्न माग गरेको उनले बताए ।
लमजुङ सदरमुकाम बेसीशहर आउने एकमात्र डुम्रे–बेसिशहर सडकको उदिपुर देउराली डाँडा पहिरोले त्रास बढेपछि केही दिनअघि गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री समेत रहेका प्रतिनिधिसभा सदस्य गुरुङसहितको एक टोलीले पहिरो र वैकल्पिक सडकको अनुगमन गरेको थियो ।गत भदौ ११ गते पहिरोले यसअघिको डाइभर्सन सडक समेत बगाएपछि कहिले नेपाली सेनाको चण्डीप्रसाद गण हुँदै र कहिले माथिल्लो बाटो तथा कहिले पहिरो गएकै बाटो मर्मत गरेर अस्थायी रुपमा सवारी आवागमन गराइरहेको छ ।
यता डुम्रे–बेसिशहर–चामे सडक योजनाका कार्यालय प्रमुख ईन्जिनियर अच्युतविलास पन्तले बैकल्पिक सडक निर्माणको लागि मस्र्याङ्दी पारीपट्टीको सडकको स्तरोन्नति गर्न १० करोड रुपैयाँ बढीको स्टेमेटसहित सडक विभागमा पठाइएको बताए । अहिले पहिरो गएकै ठाउँमा पक्की सडक निर्माणको लागि २० करोड रुपैयाँ बराबरको टेन्डर आह्वान भएर सडक निर्माण प्रक्रिया अगाडि बढेको छ ।