एजेन्सी । टर्कीमा सोमबार गएको शक्तिशाली भूकम्पमा परेर ज्यान गुमाउनेको सङ्ख्या सात हजार नाघेको छ ।
अहिलेसम्म टर्कीमा पाँच हजार ८ सय ९४ जना र सिरियामा एक हजार ९ सय ३२ जना गरी सात हजार ८ सय २६ जनाको ज्यान गएको पुष्टि भएको बीबीसीले जनाएको छ ।
टर्कीमा आठ हजार भन्दा धेरै मानिसको भग्नावशेषबाट उद्धार गरेको र तीन लाख ८० हजार भन्दा धेरै मानिस घरबार विहीन भएर सरकारी शिविरमा रहेका बीबीसीले जनाएको छ ।
दुवै देशमा गरी २० हजार भन्दा धेरै मानिस घाइते भएको विवरण प्राप्त भएको र अस्पतालमा रहेका घाइतेहरुको विवरण सङ्कलन भैरहेको उद्धारमा संलग्न अधिकारीहरुले बताएका छन् ।
दुवै देशमा गरेर हजारौँ साना घर र ७ हजार वटा ठूला भवन भत्किएका खबरमा उल्लेख छ । विश्व स्वास्थ्य संगठनले भूकम्पका ज्यान गुमाउनेको संख्या २० हजार नाघ्न सक्ने र दुई करोड ३० लाख जना प्रत्यक्ष पीडित बनेको बताएको छ ।टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले अहिलेसम्म विभिन्न देशबाट तीन हजार जना विशेष फौज आफ्नो देश आएको जानकारी दिनुभएको छ । मान्छे खोज्ने कुकुर र विशेष उपकरणसहित पुगेका उनीहरुले उद्दारको काम गर्नेछन । अमेरिका, बेलायत, चीन, रुस, भारत, पाकिस्तान, जापान, इराक, इरान, अष्ट्रेलिया, न्युजिल्याण्ड, ग्रिस लगायतका देशबाट अत्यावश्यक राहतका सामग्री टर्की र सिरियामा पुगेका छन् ।
अत्याधिक चिसो, हिमपात र वर्षाले गर्दा उद्दार र राहतमा कठिनाइ भइरहेको खबरमा उल्लेख छ । धेरै पीडितहरू युद्धग्रस्त उत्तरी सिरियामा छन् । जहाँ प्रतिबन्धहरुका कारण सहयोगीहरु पुग्न सकिरहेका छैनन् ।