जनक श्रेष्ठ
लमजुङ । लमजुङ दोर्दी गाउँपालिकाभित्रका विद्यालयहरुमा बिहिबार शोक विदा दिइने भएको छ । पालिकाको वडा नं. ७ फलेनी लप्सीबोटस्थित जीवन अम्मर आधारभूत विद्यालयका प्रधानाध्यापक रोशन गुरुङको उपचारका क्रममा बुधबार निधन भएपछि शोक विदा दिने निर्णय गरिएको हो ।
दोर्दी गाउँपालिकाले एक शोक विज्ञप्ति जारी गर्दै उक्त जानकारी गराइएको हो । दोर्दी गाउँपालिका युवराज अधिकारी र शिक्षा शाखा प्रमुख भिमप्रसाद लामिछानेद्वारा हस्ताक्षर गरिएको सो विज्ञप्तिमा गाउँपालिकाद्वारा गुरुङको उपचारका क्रममा निधनका कारण स्तब्ध भएको र शोकको यस दुःखद घडीमा मृतआत्मको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गरिएको छ ।
साथै परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनि प्रार्थना गर्दै शोक सन्तप्त परिवारप्रति गहिरो संवेदना प्रकट गरेको गरिएको छ । शिक्षा शाखाका प्राविधिक सहायक राजेश अधिकारीका अनुसार पालिकामा ५१ वटा सामुदायिक विद्यालय रहेका छन् ।
गुरुङको बुधबार बिहान ४ बजेतिर करिब ३४ वर्षको उमेरमा निधन भएको बताइएको छ । दुई तीन वर्षदेखि गुरुङको रगतमा खराबी र शरिरमा आएको गाठागुठीको कारण उपचार तथा औषधी सेवन गर्दै आएको र केही समयअघि उपचार गर्न पोखरास्थित मणीपाल अस्पताल पुगेपनि उपचारका क्रममा निधन भएको बुझिएको शिक्षा शाखाले जनाएको छ ।
गुरुङ विसं. २०६६ देखि पहिलो पटक सोही विद्यालयका शिक्षकका रुपमा रहेको र निरन्तर शिक्षककै रुपमै अघि बढ्दै वि.सं.२०७३ देखि सोही स्कुलकै प्राधानाध्यपकका रुपमा कार्यरत रहँदै आएका थिए ।