काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले टर्कीका भूकम्पपीडितलाई सघाउन स्वास्थ्य टोली र सहयोग पठाउने निर्णय गरेको हो। बैठकमा परिषद्का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले आवश्यक सहयोग पठाउनुपर्ने बताएका थिए।
बैठकमा प्रधानमन्त्री दाहालले टर्की असल मित्रराष्ट्र भएकाले सक्दो सहयोग गर्नुपर्ने बताएका थिए।
भूकम्पपीडितको सहयोगका लागि स्वास्थ्य टोलीसँगै स्वास्थ्य सामग्री, राहत सामग्री र खाद्य सामग्री पठाउने निर्णय भएको छ। यसका लागि आवश्यक तयारी गर्न प्रधानमन्त्री दाहालले परिषद्लाई निर्देशन दिएका छन्।
बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, मुख्यसचिव शंकरदास बैरागी लगायत सुरक्षा निकायका प्रमुख उपस्थितत थिए।
टर्कीमा गएको भूकम्पमा परी टर्की र सिरियाका नौ हजारभन्दा बढी नागरिकको मृत्यु भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार टर्कीमा ६ हजार ९५७ र सिरियामा दुई हजार पाँच सय जनाको शव भेटिएको छ।
अझै पनि खोजी र उद्धारको कार्य जारी रहेको छ। भत्किएका भवनमा केही मानिस च्यापिएको हुनसक्ने जनाइएको छ।