काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान) सँगको सम्झौता तोडेका छन्।
बुधबार आगामी सिरिजका लागि टोलीलाई क्यानले बिदा गरेको केही समयपछि उनले क्यानसँगको सम्झौतालाई निरन्तरता नदिने निर्णयमा पुगेको घोषणा गरेका हुन्।
‘धेरै सोच विचार पछि मैले यस पटक नेपाल क्रिकेट संघको केन्द्रीय सम्झौतामा नरहने निर्णयमा पुगेको छु। म क्रिकेट र राष्ट्रबाट एक कदम पनि टाढा जान खोजेको होइन। व्यक्तिगत र व्यवसायीक रुपमा अगाडी बढ्ने दिशामा एउटा कदम हो,’ सन्दीपले लेखेका छन्।
आफूलाई निरन्तर सहयोग गरेको भन्दै क्यानप्रति आभार व्यक्त गरेका छन्। नेपाल क्रिकेर र आफ्नो क्रिकेट विकासमा क्यानको महत्वपूर्ण भूमिका रहेको पनि सन्दीपले बताएका छन्।
‘जीवन भनेको विकासशील बाटो र जिम्मेवारीहरुले भरिएको यात्रा हो। अझै धेरै कुराहरु सिक्न बाँकी छ। धेरै समय बाँकी छ। धेरै गर्न बाँकी छ। म क्रिकेट र त्यसपछिको यात्राका लागि उत्साहित छु’, सन्दीपले लेखेका छन्। सन्दीपले भनेका छन्–कहिलेकहिँ छनोटहरु उद्देश्य र विकासको ठाउँबाट गरिन्छ।