लमजुङ । दोर्दी गाउँपालिकाले किसानलाई अनुदानमा किविको बिरुवा वितरण गरेको छ । बाँझो जमिनको सदुपयोग गर्न र किविखेतितर्फ किसानलाई आकर्षित गराउनका लागि पालिकाको कृषि शाखाले ८० प्रतिशत अनुदानमा किसानलाई किविको विरुवा वितरण गरेको हो ।
कृषि शाखाको ५० हजार रुपैयाँ बजेटबाट पालिकाभित्रका १० जना किसानलाई ५ सय वटा किविको बिरुवा वितरण गरेको हो । उक्त बिरुवा गाउँपालिका अध्यक्ष युवराज अधिकारीले जिल्ला र जिल्ला बाहिरका बजारमा किविको माग राम्रो भएकाले किसानलाई किवि खेतितर्फ आकर्षित गर्दै आयआर्जन गरी जीवनस्तर वृद्धि गर्नका लागि गाउँपालिकाले किवि खेतिमा जोड दिन थालेको बताए ।
अनुदानमा किविका विरुवा पाएपछि किसानहरुले किविखेति गर्न थालेको उनको भनाई छ । उनले पालिकामा व्यवसायिक रुपमा किवि खेती गरेका तथा गर्न ईच्छुक किसानलाई किवि खेतीमा सहज होस भनि बिरुवा वितरण गरेको बताए ।
जिल्ला तथा जिल्ला बाहिरा किविको बजार राम्रो भएकाले यसवाट किसानले मनाग्य आम्दानी गरी जिवनस्तरम बृद्धि गर्न सक्ने भएकाले पनि गाउँपालिकाले किवि खेतीमा जोड दिएको बताए ।
कृषि शाखाका प्राविधिक नरहरी घिमिरेका अनुसार व्यवसायिक रुपमा किवि खेती गर्दै आएका तथा किवि खेती गर्न चाहने किसानले शाखामा दिएको आवेदनको आधारमा बिरुवा वितरण गरिएको छ ।
प्रति किसानले आवश्यकता अनुसार २० वटा देखि १५० वटा सम्म बिरुवा लगेको उनले बताए । सो विरुवा वितरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष विच्छबहादुर घले, कृषि शाखाका प्राविधिक निराजन पौडेल लगायत किसानहरुको उपस्थिति रहेको थियो ।
गाउँपालिकामा हालसम्ममा जम्मा ४ जना किसानले व्यवसायिक रुपमा किवि खेती गर्दै आएको कृषि शाखाले जनाएको छ ।