एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी चीनफिङबीच टेलिफोन वार्ता भएको छ । दुई नेताबीच व्यापार र विद्यार्थी भिसासम्बन्धी तनावका विषयमा छलफल भएको हो । अमेरिकाको अनुरोधमा भएको यो कुराकानीले दुई देशबीचको सम्बन्धमा नयाँ मोड ल्याउन सक्ने अनुमान गरिएको छ ।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोशलमा लेखेका छन्, ‘मैले चिनियाँ राष्ट्रपति सीसँग निकै राम्रो कुराकानी सम्पन्न गरेँ, जहाँ हामीले व्यापार सम्झौताका केही जटिलताहरूबारे छलफल गर्याैँ । कुराकानी करिब डेढ घण्टा चल्यो र दुवै देशका लागि सकारात्मक निष्कर्ष निस्कियो ।’
उनले थपेका छन्, ‘उत्पादनहरूको जटिलताबारे अब कुनै प्रश्न रहने छैन । हाम्रा टोलीहरू चाँडै कुनै स्थानमा भेट गर्नेछन् । कुराकानीका क्रममा राष्ट्रपति सीले मलाई र प्रथम महिलालाई चीन भ्रमणको निम्तो दिनुभयो, र मैले पनि उहाँलाई अमेरिका आउन निम्तो दिएँ ।’
यो कुराकानी व्यापारमा मात्र केन्द्रित रहेको र रुस-युक्रेन युद्धबारे कुराकानी नभएको पनि ट्रम्पले बताएका छन् । चीनको सरकारी टेलिभिजनका अनुसार सीले ट्रम्पसँगको कुराकानीपछि भनेका छन्, ‘दुई देशले जित-जित परिणामका लागि प्रयास गर्नुपर्छ, संवाद र सहकार्य नै एकमात्र सही बाटो हो ।’ उनले ताइवान मुद्दालाई अमेरिकाले सावधानीपूर्वक व्यवहार गर्नुपर्नेमा जोड दिए ।