काठमाडौं । देशको विदेशी मुद्रा सञ्चिति २५ खर्ब रुपैयाँ नाघेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनाको विवरणअनुसार वैशाख मसान्तसम्म मुलुकसँग २५ खर्ब १२ अर्ब ९५ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा सञ्चिति रहेको छ।
गत आर्थिक वर्षको असार मसान्तसम्मको तुलनामा हालसम्म विदेशी मुद्रा सञ्चिति २३.१ प्रतिशतले वृद्धि भएको हो। वैशाख मसान्तसम्म अमेरिकी डलरमा सो सञ्चिति १८ अर्ब ४० करोड डलर पुगेको छ, जुन अघिल्लो असारको तुलनामा २०.५ प्रतिशतले बढी हो।
राष्ट्र बैंकको विवरणअनुसार कुल सञ्चिति रकममध्ये राष्ट्र बैंक आफैँसँग २२ खर्ब ११ अर्ब ११ करोड रुपैयाँ बराबरको सञ्चिति छ भने बाँकी ३ खर्ब १ अर्ब ८३ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरूको स्वामित्वमा रहेको छ।
कुल विदेशी मुद्रा सञ्चिति रकममा भारतीय रुपैयाँको अंश २१.२ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ। बाँकी हिस्सा अमेरिकी डलर, युरो, युआन, र अन्य प्रमुख अन्तर्राष्ट्रिय मुद्रामा रहेको बताइएको छ।
रेमिट्यान्स आप्रवाहमा आएको तीव्र वृद्धिसँगै निर्यात र पर्यटन क्षेत्रबाट समेत विदेशी मुद्रा आम्दानीमा सुधार देखिएको विश्लेषण गरिएको छ।