एजेन्सी । विनाशकारी भूकम्पका कारण टर्की र सिरियामा ज्यान गुमाउनेको संख्या २८ हजार नाघेको छ । उद्धारकर्मीहरूका अनुसार टर्कीमा २४ हजार तथा सिरियामा ४ भन्दा बढीले ज्यान गुमाएका छन्।
टर्कीमा विनाशकारी भूकम्प गएको ७ दिनसम्म पनि भत्किएका भवन र संरचनाका भग्नावशेषबाट मानिसहरूको जीवितै उद्धार भइरहेको छ। भूकम्पमा परी १ लाख भन्दा बढी मानिस घाइते भएका छन्।
राष्ट्रसंघका विशेषज्ञले टर्की–सिरिया भूकम्पमा मृत्यु हुनेको संख्या यसको दोब्बर हुन सक्ने बताएका छन्। टर्कीको अदनामा स्काई न्युजसँगको कुराकानीमा राष्ट्रसंघका आपत्कालीन प्रतिकार्य संयोजक मार्टिन ग्रिफिथले भूकम्पमा मर्नेहरूको संख्या अहिलेकोभन्दा दोब्बर पुग्न सक्ने बताएका हुन् ।
भूकम्प आएको १२८ घण्टापछि हटाईमा एक १३ वर्षे बालकको भग्नावशेषबाट जीवितै उद्धार गरिएको छ। अर्दा क्यान ओभुलाई दक्षिणी टर्कीमा एउटा भत्किएको घरबाट बाहिर निकालेर अस्पताल लगिएको छ।
उद्धारकर्मीहरू भूकम्पपछिका प्रतिकूल मौसममा पनि भग्नावशेषबाट जीवित उद्धार गर्न सकेकामा त्यसलाई चमत्कार भनेका छन् । भूकम्पको केन्द्रबिन्दु रहेको गाजियान्टेपमा एक जना गर्भवती महिला र उनकी सानी छोरीको ११५ घण्टापछि जीवित उद्धार गरिएको छ। दुवै भूकम्पमा परि टर्की र सिरियामा मृत्यु हुनेहरूको सङ्ख्या अझै बढ्न सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
जर्मन विपद् प्रतिकार्य संस्थाले भग्नावशेषमा च्यापिएकी एक जना बालिकालाई ११० घण्टापछि जीवितै उद्धार गरेको भिडिओ सार्वजनिक गरेको छ।