एजेन्सी । एयर इन्डियाको फ्लाइट AI 379 मा बम विष्फोटको धम्कीपछि आपतकालीन अवतरण गराइएको छ। १५६ यात्रु बोकेर उडेको जहाजमा थाइल्याण्डमा बमको धम्कीपछि आपतकालीन अवतरण गराइएको हो। उक्त फ्लाइट थाईल्याण्डको फुकेटबाट भारतको राजधानी नयाँ दिल्लीका लागि उडेको थियो । धम्की प्राप्त भएपछि विमान अण्डमान समुद्र माथि घुमेर पुनः फुकेट विमानस्थलमा अवतरण गराइएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
यात्रुहरूलाई आपतकालीन प्रोटोकल अनुसार विमानबाट सुरक्षितरूपमा बाहिर निकालिएको छ । बमको धम्की लेखिएको नोट भेटिएको थाइ विमानस्थलले जनाएको छ, यद्यपि प्रारम्भिक खोजीमा कुनै विस्फोटक पदार्थ भने फेला परेको छैन।
नोट भेट्ने यात्रु हाल सोधपुछमा छन्। विमान स्थानीय समय अनुसार बिहान ९:३० मा उडेको थियो र दिउँसो १२:४० मा अवतरण गर्ने तालिका थियो।
यो घटना एयर इन्डियाको अर्को विमान भारतको अहमदाबाद शहरमा दुर्घटनाग्रस्त भएको २४ घण्टाभित्रै भएको हो। दुर्घटनामा कम्तीमा २९० जनाको मृत्यु भएको छ, जसमा यात्रुहरू, नाबालकहरू, स्थानीय बासिन्दाहरू तथा BJ मेडिकल कलेज र होस्टेलभित्र रहेका मानिसहरू पनि परेका छन्।