काठमाडौं । नेपालले एसिसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ। मलेसियाको कोजल टुन्कु जाफर ओभलमा मंगलबार सम्पन्न खेलमा नेपालले जापानलाई ९ विकेटले पराजित गर्दै समूह ‘ए’ को शीर्ष स्थानमा स्थान सुरक्षित गरेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको जापानले ३४.३ ओभरमा ८० रनमा सबै विकेट गुमायो। जवाफमा नेपालले ८१ रनको लक्ष्य १४.२ ओभरमा मात्र एक विकेटको क्षतिमा सहजै पुरा गर्यो।
नेपालका लागि शिवान्स बजगाईंले अविजित ३८ रन तथा प्रसिद्ध जैसीले अविजित ३३ रन बनाए। बलिङतर्फ शुभम् खनालले ५ विकेट लिँदै प्रभावशाली प्रदर्शन गरे। अभय यादवले २ तथा सुशीलबहादुर रावल र कप्तान विपिनप्रसाद शर्माले एक–एक विकेट लिए।
यसअघि नेपालले पहिलो खेलमा सिंगापुरलाई ६ विकेटले हराएको थियो। दुई खेलमा चार अंक जोडेको नेपाल अहिले समूह ‘ए’ को शीर्ष स्थानमा छ। जापानले आफ्नो पहिलो खेलमा भुटानलाई हराएको थियो।
प्रतियोगितामा नेपालसहित १० टोली सहभागी छन्। समूह ‘ए’ मा नेपाल, जापान, भुटान, सिंगापुर र इण्डोनेसिया छन् भने समूह ‘बी’ मा मलेसिया, हङकङ, माल्दिभ्स, थाइल्याण्ड र म्यानमार छन्।
नेपालले तेस्रो खेल असार १५ गते इण्डोनेसियासँग र चौथो खेल असार १७ गते भुटानसँग खेल्ने तालिका छ। नेपाल यसअघि सम्पन्न तीन संस्करणको च्याम्पियनसमेत रहँदै आएको छ।